भोकमरीको अवस्था सुध्रिंदै
काठमाडौ, २७ असोज । ग्लोबल हंगर इन्डेक्स प्रतिवेदन २०१६ ले नेपालमा भोकमरीको अवस्थामा सुधार हुँदै गएको देखाएको छ । इन्टरनेशनल फुड पोलिसी रिसर्च इन्स्टिच्युटले प्रत्येक वर्ष यस्तो प्रतिवेदन सार्वजनिक गर्ने गरेको छ ।
यो प्रतिवेदनमा नेपालको अवस्था दक्षिण एसियाली देशहरु मध्येमा राम्रो भएको छ । कुल एक सय १८ देश रहेको सूचकांकमा नेपाल ७२औं स्थानमा छ । नागरिकलाई खाद्यान्न कुन मात्रा र कसरी प्राप्त भइरहेको छ भन्ने देखाउने गरी ग्लोबल हंगर इन्डेक्स सार्वजनिक गर्ने गरिन्छ ।
कुपोषण, शिशु अवस्थाको गम्भीर कुपोषण, बालबालिकाको विकासको अवस्था र बाल मृत्युदरलाई आधार मानेर यसमा अध्ययन गर्ने गरिएको बिबिसीले जनाएको छ ।