सुकेटार विमानस्थल बन्द
काठमाडौ, २८ असोज । मेची अञ्चलको पहाडी जिल्लाको एकमात्र विमानस्थल सुकेटार विमानस्थलमा जेठ महिनादेखि हवाई सेवा बन्द हुँदा पर्यटकको चहलपहल घटेको छ । यो क्षेत्र हुँदै कञ्चनजंघा हिमालसहित प्रशिद्ध तीर्थस्थल पाथीभरा जाने तीर्थयात्री नआउँदा बजार सुनसान बनेको छ ।
त्यस्तै होटल व्यवसाय कारोबार पनि ठप्प भएको स्थानीय व्यवसायीहरुको भनाइ छ । सुकेटार विमानस्थलमा नेपाल बायु सेवा निगमको जहाजले आइतबार, बुधबार र शुक्रबार गरी सातामा तीन दिन उडान गर्दै आएको थियो । निगमसँग भएको पहाडी क्षेत्रका उडान भर्ने जहाज बिग्रिएकाले उडान गर्न नसकेको निगमका ताप्लेजुङ स्टेसन इन्चार्ज विकास राईले बताए । हवाई सेवा सुचारु हुँदा हजारौँ स्वदेशी तथा विदेशी पर्यटक आउने गरेकामा विमानस्थल बन्द हुँदा स्थानीय होटल व्यवसाय संकटमा परेको छ ।