एमाले चियापान कार्यक्रम गर्दै

२०७३ आश्विन २९ गते, शनिबार

काठमाडौ, २९ असोज । नेकपा एमालेले बडादशैं, तिहार, छठलगायत राष्ट्रिय पर्वहरुको अवसरका आज शुभकामना आदानप्रदान कार्यक्रम गर्दैछ । चियापान धुम्बाराहीस्थित शंखपार्कमा हुने भएको छ । कार्यक्रममा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानन्यायाधीश, सभामुख, मन्त्रीहरु, संवैधानिक निकायका पदाधिकारी सांसद, विभिन्न राजनीतिक दलका नेता, उच्च पदस्थ सरकारी कर्मचारी विभिन्न क्षेत्रका प्रमुख, विभिन्न पेशा व्यवसायी, नागरिकसमाजलाई समेत सबैलाई निमन्त्रणा पठाइ सकिएको पार्टी सचिव तथा प्रचार विभागका प्रमुख योगेश भट्टराईले बताए ।
चियापान कार्यक्रम मध्यान्ह १२ बजेदेखि ३ बजेसम्म हुने भएको छ । एमाले पार्टी कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठका अनुसार चियापानका लागि ३० हजार व्यक्ति र संस्थालाई निम्ता गरिएको छ । कार्यक्रमस्थलको मूल प्रवेश ढोकामा राष्ट्रिय वेशभूषा झल्कने झाँकी प्रदर्शन हुनेछ ।
कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओली सहितका नेताले स्वागत गर्ने कार्यक्रम तय भएको छ भने सञ्चारकर्मीका लागि तस्बिर लिनका लागि अलग्गै प्रबन्ध गरिएको छ । एमालेले २०४७ सालदेखि चियापान समारोह गर्दै आएको छ । तत्कालीन पार्टी अध्यक्ष मनमोहन अधिकारीले यस प्रकारको कार्यक्रमको शुरुवात गरेका थिए ।

प्रतिक्रियाहरु

[anycomment]