प्रचण्डले संसदमा सम्बोधन गर्ने
काठमाडौँ, ३ कात्तिक। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले व्यवस्थापिका संसदमा भारत भ्रमण, ब्रिक्स–बिम्स्टेक सम्मेलन, संविधान संशोधनलगायत समसामयिक विषयमा सदनमा उठेका विषयमा जवाफ दिन संसद्मा समय मागेका छन । आज अपराह्न तीन बजे बस्ने संसद् बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्ने बताइएको छ । संसद् सचिवालयका सहायक प्रवक्ता सुदर्शन कुँइकेलले प्रधानमन्त्रीले सम्वोधनका लागि समय माग गरेको बताए । कुँइकेलले भने , ‘समसामयिक विषयमा सम्वोधनका लागि प्रधानमन्त्रीले समय माग गर्नुभएको छ । बुधबारको बैठकमा उहाँले नियमित कार्यसूचीभन्दा पहिले नै सम्बोधन गर्नुहुनेछ । ’
प्रधानमन्त्री प्रचण्डले यसअघि भारत भ्रमणका विषयमा प्रमुख प्रतिपक्ष दलका नेता केपी शर्मा ओलीले नै संसद्मा सम्बोधन गर्दै जवाफ मागेका थिए । यस्तै, अन्य प्रतिपक्ष दलहरूले पनि सहमतिका विषयमा असहमति प्रकट गर्दै जवाफ माग गरेका थिए । मङ्गलबारको संसद्मा प्रधानमन्त्रीको अघिल्लो भारत भ्रमण र हालै सम्पन्न भारतको गोवामा सम्पन्न ब्रिक्स सम्मेलनलगायत सांसदहरूले जवाफ माग गरेका थिए । प्रतिपक्ष दलहरूले संविधान संशोधनबारे पनि सरकारको धारणा माग गरेका छन् ।