लोकमान विरुद्धको प्रस्ताव संसदमा अघि बढ्ने
काठमाडौ, ४ कात्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्की विरुद्ध संसदमा दर्ता महाअभियोग प्रस्तावबारे आज छलफल प्रक्रिया सुरु हुने भएको छ । संसदमा हिजो दर्ता भएको प्रस्ताव आज संसद बैठकमा प्रस्तुत हुनेछ । प्रस्ताव दर्ता भएपछि अख्तियार प्रमुख कार्की भने निलम्बनमा परेका छन । आज दिउँसो १ बजे बोलाइएको संसद बैठकमा प्रस्तावक सांसद महेन्द्र शाहीले प्रस्ताव पेश गर्ने बताइएको छ । सत्तारुढ दल नेकपा माओवादी केन्द्र र प्रमुख प्रतिपक्षी नेकपा एमालेका १ सय ५७ जना सांसदले हिजो प्रस्ताव दर्ता गराएका छन् ।
संसद सचिवालयले आजको संसद बैठकको पूर्वनिर्धारित दैनिक कार्यसूची परिवर्तन गरी महाअभियोग प्रस्ताव अघि बढाउने तयारी गरेको छ । संविधानको धारा १०१ को उपधारा २ र संसद नियमावली १६८ को उपनियम १ बमोजिम दर्ता भएको प्रस्तावबारे सदनमा छलफलको दिन र समय तोक्ने संसद सचिवालयले जनाएको छ ।
व्यवस्थापिका संसदको नियमावलीको नियम १६८ को उपनियम १ बमोजिम दर्ता भएको प्रस्तावलाई उपनियम २ अनुसार महासचिवले सभामुखसमक्ष पेस गर्नुपर्छ । त्यस्तो प्रस्ताव दर्ता भएको मितिले सात दिनभित्र छलफल हुने दिन र समय सभामुखले तोक्नुपर्ने छ । ब्यवस्थापिका संसदको बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ ।