काग्रेंस केन्द्रिय कार्यसमितिको बैठक बस्दै
काठमाडौं, ८ कात्तिक । आज नेपाली कांग्रेस केन्द्रिय कार्यसमितिको बैठक बस्न लागेको छ । अतियार प्रमुख लोकमानलाई महाअभियोग संसदमा दर्ता भएर दुई दिनका लागि स्थगित भएपछि बस्न लागेको बैठकमा मुख्य गरी लोकमानसिंह कार्कीको महाअभियोगका विषयमा केन्द्रित भएर छलफल हुने बताइएको छ । संविधान संशोधन, स्थानीय निकायको पुनर्संरचनामा पार्टीको धारणा, पदाधिकारी नियुक्ती लगायत विषयमा छलफलका लागि बैठक बोलाइएको भएपनि लोकमानविरुद्ध संसदमा महाअभियोग दर्ता भएपछि यो छलफलको मुख्य विषय बनेको छ । कांग्रेसका धेरै युवा नेता महाअभियोग प्रस्तावलाई पारित गराउनुपर्ने पक्षमा खुलेर लागेका छन् भने शीर्ष नेताले थप छलफल गरेर मात्र धारणा बनाउनुपर्नेमा जोड दिँदै आएका छन् । सभापति शेरबहादुर देउवाले महाअभियोगका विषयमा जनमत अनुसार नै अघि बढ्ने तर यसमा पार्र्टीभित्र थप छलफल गरेर आधिकारिक धारणा बनाउने बताउँदै आउनुभएको छ । बैठकमा संविधान संशोधनका विषयमा पनि छलफल हुने नेताहरुले बताएका छन् ।