होसियार ! चोरिएला एटीएमबाट डाटा

२०७३ कार्तिक १३ गते, शनिबार

काठमाडौँ, १३ कात्तिक । राजधानीको व्यस्त बजार क्षेत्रमा रहेका एटीएम काउन्टर तथा बुथबाट रकम निकाल्न जाँदा तपाईं कतिको गोप्यता अपनाउनु हुन्छ ? यदि गोप्यता अपनाउनु हुँदैन भने सचेत हुनु होस्, एटिएम कार्ड प्रयोग गर्ने क्रममा डाटा र पिन कोड कसैले सुटुक्क चोरी रकम झिकिदिन सक्छन् ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले सुटुक्क अर्काको पिन कोड तथा डाटा चोरी गरी रकम झिक्ने कार्यमा संलग्न विदेशी नागरिकलाई पक्राउ गरेको छ । पक्राउ परेका विदेशीले ‘हिडेन’ क्यामेराको सहयोगले दृष्य कैद गरी यस्तो अवैध कार्य गरेको भनाइ प्रहरीको छ । पक्राउ पर्ने बुल्गेरियन नागरिक डिमो एटान्सोभ स्टेफानोभले एटिएम बुथबाहिर कुरेर अर्काको पिन कोड तथा डाटा चोरी गरी रकम झिक्ने गरेका हुन् । ३८ वर्षीय डिमोले एटिएम बुथबाहिर कुर्ने, कसैले एटिएम राखेर रकम झिक्न लाग्दा क्यामेरा प्रयोग गरी पिन कोड नम्बर चोर्ने गरेको जानकारी प्रहरीले दिएको छ ।
विशेषगरी दिउँसो एटिएम काउन्टरबाहिर रकम झिक्न गए जस्तो गरी ढोका नजिकै उभिने र हातमा रहेको हिडेन क्यामेराले अरुले रकम झिकेको दृश्य कैद गर्ने गर्थे । यसरी, क्यामेराले खिचेको दृश्य अलि पर गएर हेर्ने र सम्बन्धित व्यक्तिले एटिएम प्रयोग गर्दा थिचेको पिन कोड नम्बरदेखि अन्य डाटामा सहजै पहुँच पु¥याएपछि अर्कै एटिएम प्रयोग गरी रकम झिक्ने गरेको जानकारी ब्युरो प्रहरीले दिएको हो । उनको साथबाट प्रहरीले १७ हजार अमेरिकी डलर, छ सय युरो, हिडेन क्यामेरा र पेनड्राइभ बरामद गरेको छ । यसअघि ब्युरोले टर्किस नागरिक मेहामेत गुलियन २६ लाख रुपियाँ, ४२ थान एटिएम, बुल्गेरियन नागरिक पेट्रोसोल्भ हरिसटोभ ४० हजार अमेरिकी डलर, ७५ हजार युरो, १८ लाख रुपियाँ र चार हजार १७९ थान एटिएम कार्ड र रोमानियाली नागरिक प्रेडा आउरेलिना दुई लाख ६४ हजार रुपियाँ र ६० थान कार्डसहित पक्राउ परेका थिए ।
ब्युरो प्रहरीले एटिएम काउन्टर तथा बुथमा एटिएम प्रयोग गर्दा बाहिरको वातावरण बुझेर तथा कसैले हेरिरहेको छ या छैन सो कुराको जानकारी लिइ रकम झिक्न सुझाव दिएको छ । साथै पिन नम्बर परिवर्तन गरिरहने र एसएमएस सेवा राख्न सर्वसाधारणलाई सल्लाह दिएको छ ।
प्रहरीका अनुसार, एसएमएस सेवा राखेमा एटिएमको डाटा तथा पिन नम्बर कसैले चोरी गरी प्रयोग गरी रकम झिकेमा एसएमएस आउने र सूचना दिने गर्छ । पक्राउ विदेशी नागरिक एसएमएसकै सहयोगमा पक्राउ परेका हुन् ।
ब्युरो प्रहरी प्रवक्ता दिवस लोहनीका अनुसार विशेषगरी बुल्गेरिया, टर्किस र रोमानियाली अपराधीले एटिएमबाट रकम चोर्न नेपालाई सुरक्षित गन्तव्यका रूपमा प्रयोग गर्दै आएका छन् । उनीहरू नेपालबाट चोरी गरेको रकम आफ्नो देशमा फर्काउन घुमाउरो बाटो प्रयाग गर्छन् । -देवबहादुर कुँवर, गोरखापत्र

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु