बैद्धिकको सुनुवाइ बिहिबार
काठमाडौ, १३ कात्तिक । संसदीय सुनुवाइ विशेष समितिले न्याय परिषद्का लागि प्रस्तावित सदस्य पदमप्रसाद बैद्धिकको यही कात्तिक १८ गते संसदीय सुनुवाइ गर्ने भएको छ । सुनुवाई समितिका सचिव ध्रुवप्रसाद घिमिरेका अनुसार बैद्धिकको सुनुवाइका लागि कात्तिक १८ मा समिति बैठक बोलाइएको छ । बैद्धिकलाई गत असोज २० गते प्रधानमन्त्रीले न्याय परिषद् सदस्यमा सिफारिस गरेको थियो ।
प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिबाट नियुक्त हुने रिक्त परिषद् सदस्यमा बैद्धिकको सिफारिस भएको हो । प्रधानन्यायाधीशको अध्यक्षतामा रहने परिषद्मा कानुन व्यवसायीबाट दुई जनाको प्रतिनिधित्व हुने व्यवस्था संविधानले गरेको छ । कानुन व्यवसायीले गर्ने प्रतिनिधित्वमा नेपाल बार एसोसिएसनका तर्फबाट सिफारिस हुनुभएका रामप्रसाद सिटौलाको यसअघि नै संसदीय सुनुवाइ भइसकेको छ । रिक्त एक सदस्यमा बैद्धिकको सिफारिस भएको हो । प्रस्तावित सदस्य बैद्धिकविरुद्ध उजुरीका लागि आह्वान गरेको समयसीमामा कुनै पनि उजुरी नपरेको घिमिरेले बताए ।