भाइटीका – इन्द्र थेगिम

२०७३ कार्तिक १६ गते, मंगलवार

म करिब ६ बर्षकी थिएं क्यार जतिबेला मेरो भाई ४ बर्ष पुग्नै लागेका थिए । उसलाई छरछिमेकले असाध्धै राम्रा, नाक मुख चटक्कै मिलेका छरितो केटा भन्थे। अरुले जे भनेपनी मलाई मेरो भाइ फुच्छे , डल्ले , निर्दोष लाग्थ्यो । त्यो दिन छिमेकमा खसी काटे हो तब न बुवा ले एक धार्नि मासु बोकेर आउनुभो । हामी बुबाको दौराको फेर समातेर मासु काटेको रमिता हेर्न पुल्कित भयौं । बुवाले मासु काट्ने बम्फक होसियार पूर्बक तासि बाट निकालेर, भर्खरै रातो माटो र गोबर ले लिपेको घरको पेटिमा ओछ्याएको खोसेलाको पिरा माथी बस्दै रेंति लगाउन सुरु गर्नुभो । सकिए पछी बिस्तारै त्यै पेटिमुनी को अलि फराकिलो ठाउँ खोज्दै काठे पिरालाई खुट्टाले घर-र सार्दै बस्नुभयो। बुवाले ठुलो नाङ्लो माथी अचानो राखेर ट्वाक् ट्वाक् मासु काट्दै गर्दा हामी रिङ्गै बसेर सिंगान स्वांक स्वांक तान्थ्यौं। आंगनमा कुख्राको भालेहरु पोथी र चल्ला लाई छिचोल्दै क-क-क गर्दै अचानो बाट उछिट्टिएको मासुको चोइटा खान झ्याम्मिन्थ्यो भने हामी चैं कतिबेला पकाएर खान पाइने होला भनी पालैपालो थुक घुटुक्क निल्थ्यौं ।
मैले भाईलाई – ओई जा-जा तल्लाघरे पिरिङ र प्याक्चीलाई नि लिएर आ छिट्टो लु त ? भन्ने बित्तिकै एकै सास् मा मेरो भाई बम्फट्टे चप्पल मा इलास्टिक् लुज भएको कट्टु एक हातले तान्दै अर्को हातले सिंगान पुछ्दै दगुरे । भाइ पिरिङ र प्याक्ची लिएर आउंदा नआंउदा सम्म बुवाले मासु काटि सक्नु भाथ्यो।
पिरिङ सधैं भन्दा सुघ्घर देखिन्थे, उनले पुरानै दौरा सुरुवाल भएनी सुकिलो पारी चट्ट ढाकाटोपी संग मिलाएर लाएका थिए । बहिनी प्याक्ची पनि पोहोर साल ठुले दमाईले सिलाई दिएका फुलबुट्टे जामा मा राम्री पुतली जस्तै देखिएकी थिई । म र भाई उनिहरुको सुकिलो लुगा टुलुटुलु हेरि रह्यौं । मेरो दाहिने कुम पट्टि फाटिएको भाग, जामाको तल्लो फेरोले छोप्ने प्रयास् गरिरहें । भाईले भने- दिदी अब मेरो चप्पल जोड्ने ठाउँ छैन रे है ? मैले भनें- कस्ले भन्यो तंलाई ? भाइ- आमाले अस्ति नै कत्ती कुप्पी बालेर आगोमा जोड्न खोज्नु भएको नि, भएन । मैले प्रतिउत्तरमा केही भनिन , भाईकोआंखामा एक अनौठो चमक देखें । म मनमनै मुस्काए मात्र ।
दिदी पल्टिदै उनिहरुलाई सुनाउंदै भनें- थाहा छ आज हाम्रो घरमा थुप्रो मासु पाक्दैछ ? भरे पाकेपछी, यै मासु मेरो भाईलाई पस्केर दिन्छु । मेरो भागको मासुको झोल पनि उसैलाई थपनि दिन्छु नि । अनि हिजो देउसी खेलेको पैसा भाईले मलाई दिन्छ । मासु पाके पछि तिमिहरु फेरि आउनु ल ? म आमालाई भन्छु अलिकति दिनुभनेर । अनि हामी गुच्चा खेल्नुपर्छ है ।
दाजु बैनी टाउको हल्लाउँदै घरतिर दौडिए । मेरो भाइ खुशी ले दंगदास हुँदै हिजो भेला गरेको चानचुने पैसा गन्न थाले १,२,३,४,५- पांच रुप्पे ६,७,८,९,१०- अं … कति धेरै पैसा मेरो दिदी ।
आमा बिहानै हंसिया र डोको बोकि मेलोमा निस्कनु भएको, अबेर भएजस्तो लाग्दैछ अझै आउनु भएन। माथिल्लो थुम्कि सम्म आँखा तन्काउदै घरभित्र छिर्दा, बुवाले अघिनै आगो जोडेर ठूलो काने कराईमा मासु ओइर्याइ सक्नु भएको रहेछ।
मासुको हरहर बासनाले भाइ र म हुरुक्कै भयौं। कहिं नभएको भोक बेस्सरी लागेर आयो। बुवा उता फर्केर सिलौटामा लोहोरोले लसलस गर्दै मसला पिस्दै हुनुहुन्थ्यो । भाईले आगो ताप्न लाई सुक्कुल तानेर ल्याए, हामी संगै ढेसिएर बस्यौं। बोल्न छोडेर उम्लिंदै गरेको मासुलाई एकोहोरो हेरिरह्यौं। बुवा- लु नानी! मैले यो मासुमा सबै मसला तसला लगाईसकें। आगो सानो पारेर झोल सुकुन्जेल बेलाबेला चलाउनु है। पछि बाट यो कित्लीको तातो पानी ठिक्कले खन्याउनु ल छोरी ?
म- हुन्छ बुवा! बरु आमालाई भारी बोक्न सघाएर छिटो आउनु है । बुवा नबोली खोप्पी बाट नाम्लो निकाल्दै डोको भएतिर निस्कनुभो । चुलोको छेउमा भट्टु भांडामा भात पाकि सकेको देखें। अघि बिहानै आमाले पकाएर जानुभएछ।
भाई – दिदी अब अझै कति मिलेट लाग्छ मासु पाक्नुलाई?
म – अं~~~~~ अब २ मिनेट जति लाग्छ ननिंदा नि फेरि।
भाइ – थकित आंखाहरु मुस्किलले उघार्दै, कति हो त्यो भनेको?
म- १ देखि १०० सम्म गन्ती गर त नबिराई। अनि पाक्छ ।
भनिसकेपछी साच्चै मान्छेले कसरी समय हेर्छ होला घडिमा? खुल्दुली लागिरह्यो त्यो रातैभरि। भाइ त १,२,३ गन्दागन्दै ठहरै ढलिहाले निन्द्रा ले। मैले भाई लाई सुक्कुल मै सुत्न दिएं। अब मासुको झोल बुलुक बुलुक उम्लन थाल्यो , भाइलाई जोगाउन भनी सुक्कुललाई जोरले तानेर अलि पर सारें ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

भरतपुर हिरासतका ती दिन

२०८२ बैशाख ८ गते, सोमबार

गीत : ए हावा

२०८२ बैशाख ४ गते, बिहीबार

सस्तो मूल्यमा बिक्रीमा छ

२०८२ बैशाख २ गते, मंगलवार