प्रहरीचौकीमा आक्रमण, हतियार लुटियो

२०७३ कार्तिक १७ गते, बुधबार

काठमाडौं, १७ कात्तिक । जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार आग्रीगाउँ प्रहरीचौकीमा स्थानीय युवाले आक्रमण गरेका छन् । मदिरा सेवनको विषयमा विवाद हुँदा स्थानीय युवाले आक्रमण गरेका हुन् । यसअघी मदिरा सेवन गरेका स्थानीय युवा र प्रहरीबीच विवाद भएको थियो । उक्त विवादले उग्ररूप लिएपछि स्थानीयले घरेलु हतियारसहित मंगलबार राति चौकीमा आक्रमण गरी चौकीमा भएका तीनओटा राइफल, एउटा पेस्तोल र १५० राउन्डभन्दा बढी गोली लुटेका थिए । करिब ३० जनाको संख्यामा रहेका स्थानीयले बन्चरो, हँसियालगायतका घरेलु हतियारले चौकीमा आक्रमण गरेका हुन् ।
प्रहरीले लुटिएका सबै हतियारहरु फेलापारिएको दाबी गरेको छ । लुटिएका केही हतियार स्थानीय खोला र गाउँलेको घरमा फेलापरेको प्रहरीले जनाएको छ ।
चौकी आक्रमण र हतियार लुटपाटमा संलग्न रहेको भन्दै प्रहरीले सातजनालाई पक्राउ गरेको छ । चौकी आक्रमणपछि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी उपरीक्षक मोहन आचार्यको नेतृत्वमा घटनास्थलमा थप प्रहरी टोली पुगेको छ ।

प्रतिक्रियाहरु

[anycomment]