‘राष्ट्रका लागि युवा’ अभियानको थालनी

काठमाडौ, २७ कात्तिक । नेकपा माओवादी निकट राष्टिय युवा जनस्वयंसेवकले ‘राष्ट्रका लागि युवा’ नामक अभियानको थालनी गरेको छ । माओवादीका प्रवक्ता प्रकाण्डले आज एक समारोहबीच राष्टिय युवा जनस्वयंसेवकका अध्यक्ष झकबहादुर मल्ललाई कुचो हस्तान्तरण गरेर सो अभियानको थालनी गरेका हुन् । आजदेखि तिन महिनासम्म चल्ने सो अभियानले देशभरका सार्वजनिक स्थलको सरसफाईका साथै भ्रष्टचारीहरुका आश्रय स्थल खोजी गरी भण्डाफोर गर्ने बताइएको छ । ‘राष्ट्रका लागि युवा’ अभियानले देशैभरका भ्रष्ट र दलालहरुको आश्रय स्थल खोजी सामाजिक कारवाही गर्ने अध्यक्ष मल्लले बताएका छन । अध्यक्ष मल्लले अभियानको क्रममा खाद्य सम्प्रभुतालाई सुनिश्चित गर्न अखाद्य सामाग्री वितरण गर्ने, चर्को मुल्यमा विक्री गर्ने एवं कमिशनखोरहरुका भण्डारण खोजी गरेर सामाजिक कारवाही गर्ने बताए । साथै खाद्य निर्यातमा अनुगमन गर्ने र अखाद्य बस्तु विक्री गर्नेलाई नियन्त्रणमा लिएर जनतामाँझ भण्डाफोर गर्नु अभियानको मुख्य उद्देश्य रहेको उनले बताए ।
माओवादीको सहायक संगठन राष्ट्रिय युवा जनस्वयंसेवकले अभियान पूर्णतः जनताको सेवामा समर्पित रहने र अभियानमा काठमाडौं उपत्यका सफाइ गर्ने कार्यमा केन्द्रीत हुने जनाइएको छ । उपत्यकामा रहेको ट्राफिक जाम हटाउने, फुटपाथ व्यवस्थित गर्ने, सार्वजनिक तथा सरकारी सेवालाई सहज गराउने जस्ता कार्य हाम्रो अभियानका प्राथमिक कार्यभित्र पर्ने अध्यक्ष मल्लले बताए ।