आज विश्व मधुमेह दिवस
काठमाडौँं, २९ कात्तिक । आज विश्व मधुमेह दिवस । मधुमेहबाट हुने समस्याबाट बचौँ भन्ने नाराका साथ यो दिवस मनाइँदैछ । हाल विश्वभरका ३५ करोड मानिस मधुमेहबाट प्रभावित छन् भने सन् २०२५ सम्ममा यो सङ्ख्या वृद्धि भई ४० करोड पुग्ने विश्व स्वास्थ्य सङ्गठनको अनुमान छ । नेपालको सहरी क्षेत्रमा १८ देखि २० प्रतिशत र ग्रामीण क्षेत्रमा दुईदेखि पाँच प्रतिशत वयस्क मानिस मधुमेहबाट प्रभावित छन् ।
विश्व स्वास्थ्य सङ्गठनका अनुसार, मधुमेह भएका कुल जनसङ्ख्यामध्ये ८० प्रतिशत कम तथा मध्यम आयस्रोत भएका व्यक्तिहरू छन् । सङ्घका अनुसार विश्वमा प्रत्येक छ सेकेन्डमा एक जनाको मृत्यु मधुमेहको कारणले हुन्छ । सङ्गठनका अनुसार दक्षिण पूर्वी एसियामा मात्र ८७ लाख मानिस मधुमेहबाट पीडित छन् ।