महानगरमा विद्युतीय प्रणालीबाट सेवा
काठमाडौँ, ३० कात्तिक । काठमाडौँ महानगरपालिकाले परीक्षणका रूपमा महानगरको वडा नम्बर ३१ बाट विद्युतीय प्रणालीमार्फत सेवा दिन सुरु गर्ने भएको छ । महानगरबासीलाई गुणस्तरीय र पारदर्शी सेवा प्रदान गर्ने उद्देश्यसहित महानगरपालिकाले यसै साताबाट महानगरको उक्त वडाबाट विद्युतीय प्रणालीमार्फत सेवा दिन सुरु गर्ने भएको हो । महानगरपालिका प्रवक्ता ज्ञानेन्द्र कार्कीले महानगरले नागरिकलाई दिने हरेक सेवा कागजरहित, प्रविधिमा आधारित भएर प्रदान गर्न र आम नागरिकका घरघरमा सेवा विस्तार गर्न विद्युतीय प्रणालीमार्फत सेवा विस्तार गर्ने योजना अनुरूप उक्त सेवा दिने तयारी गरिएको बताए ।
“महानगरपालिकाले मङ्गलबार-बुधबारदेखि परीक्षणका रूपमा महानगरको वडा नं. ३१ मा उक्त सेवा सुरु गर्छौं र त्यस सेवाप्रति सेवाग्राहीको आकर्षण र प्रतिक्रिया हेरेर विस्तारै महानगरका सबै वडाका कार्यालयमा यस प्रकारको सेवा विस्तार गर्छौं,” उनले भने ।
एसियाली विकास बैङ्क (एडीबी) र सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयको आर्थिक सहयोगमा हुन लागेको उक्त कार्यका लागि झन्डै चार करोड रुपियाँ लाग्ने अनुमान गरिएको छ ।
महानगरका प्रवक्ता कार्कीका अनुसार यो सेवा सुरु भएपछि महानगरवासीका गुनासो सुन्न, नक्सा पास गर्न, कर लिनेदिने बक्यौता रकमका बारेमा जानकारी लिन, करको शीर्षक, महानगरका सबै काम कारबाही तथा नीति नियमबारे सम्पूर्ण जानकारी प्राप्त गर्न इन्टरनेटमार्फत नागरिक र महानगरको सम्बन्धित शाखासँग सीधा सम्र्पक गर्न सकिनेछ ।
त्यसैगरी महानगरको बजेट, योजना, वित्तीय तथा राजस्व व्यवस्थापन चुस्तदुरुस्त भए वा नभएका बारे आम महानगरवासीले घरमै बसेर बुझ्न र हेर्न सक्नेछन् । उक्त सेवा विस्तार भएसँगै महानगरको आन्तरिक राजस्व नियमित रूपमा सङ्कलन हुने विश्वास लिएको छ । योसँगै महानगरका सबै वडा कार्यालयले आगामी दिनमा महानगरवासीको सम्पूर्ण कार्यको जानकारी कम्प्युटरमा अभिलेख राखिनेछ । महानगरपालिकाले ३५ वटै वडाका नागरिकको तथ्याङ्क कम्प्युटरमा राख्ने काम गर्नेछ ।
महानगरपालिकाले गत वर्षदेखि नयाँ घर बनाउनेका लागि सहज गराउन भन्दै विद्युतीय प्रणालीबाट नक्सापास गर्ने सेवा सञ्चालन गर्दै आएको छ ।
फाइलबाट नक्सा पास गर्दा लामो समय कुर्नुपर्ने र कर्मचारीले समयमै काम नगरिदिने गुनासो आउन थालेपछि महानगरपालिकाले गएको मङ्सिरको पहिलो सातादेखि विद्युतीय नक्सापास प्रणाली (ईबीपीएस) अगाडि बढाएको थियो । महानगरको कागजरहित सेवा लागू भएपछि यसलाई अझै व्यवस्थित हुने महानगरपालिकाले जनाएको छ ।