उपत्यकाका अवैध क्लिनिकमा सिलबन्दी

२०७३ मंसिर १ गते, बुधबार

काठमाडौं, १ मंसिर । काठमाडौं र ललितपुरमा अवैध रूपमा सञ्चालन भएका १३ क्लिनिकमा सरकारले सिलबन्दी गरेको छ । स्वास्थ्य मन्त्रालयको अनुगमन टोलीले मंगलबार आठ र सोमबार पाँच अवैध क्लिनिकमा सिलबन्दी गरेको हो । अनुगमन टोलीले ललितपुर र काठमाडौंका धेरै क्लिनिक अवैध रूपमा सञ्चालन भइरहेको जनाएको छ । स्वास्थ्यमन्त्री गगनकुमार थापाले काठमाडौं उपत्यकाका धेरै क्लिनिक अवैध रहेको गुनासो आएको भन्दै अनुगमन टोली खटाएका थिए । अनुगमन टोलीले अवैध क्लिनिकमा सिलबन्दी गरेको हो ।
स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभाग, जिल्ला जनस्वास्थ्य कार्यालय, प्रहरीलगायतको टोलीले मंगलबार गरेको अनुगमनका क्रममा काठमाडौं र ललितपुरका चार–चारवटा क्लिनिकमा सिलबन्दी गरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । ती दुई टोलीले यसअघि सोमबार पनि काठमाडौंका चार र ललितपुरको एउटामा सिलबन्दी गरिदिएको थियो । दुई दिनमा कुल १३ वटामा सिलबन्दी भएकामा ती सबै क्लिनिक रहेका छन् ।
दुवै टोलीले सोमबार र मंगलबार गरी दुवै दिन क्लिनिक तथा फार्मेसीहरूमा अनुगमन गरेको थियो । अनुगमन गरेका फार्मेसीहरूमा भने अवैध नदेखिए पनि पर्याप्त जनशक्तिको व्यवस्था नगरेको, फार्मेसी नबढेकाले पनि औषधि बिक्री गरेको लगायतका कमजोरी देखिएकाले उनीहरूलाई आवश्यक निर्देशन दिनुका साथै स्पष्टीकरण मागिएको काठमाडौंको अनुगमन टोलीको नेतृत्व गरेका व्यवस्थापन महाशाखाका डा. हेमन्त ओझाले जानकारी दिए । उनले मंगलबार काठमाडांैको चाबहिलका शाह प्याथोलोजी, रेशा क्लिनिक, विराज डेन्टल प्रालि र ओम समाज डेन्टल प्रालिमा सिलबन्दी गरिएको बताए ।
सिलबन्दी गरिएकामध्ये ओम समाज डेन्टलमा बिरामीहरू धेरै भएकाले उनीहरूलाई २४ घण्टाभित्रमा हटाउन निर्देशन दिइएको पनि डा. ओझाले जानकारी दिए । ‘उनीहरूलाई तत्काल जिल्ला जनस्वास्थ्य कार्यालयमा हाजिर हुन भनेका छौं,’ उनले भने । त्यसैगरी, ललितपुरमा खटिएको टोलीले कागजपत्र देखाउन सोमबार २४ घण्टे अल्टिमेटम दिँदा पनि दर्ता कागजपत्र देखाउन नसकेको जाउलाखेलको लेजर थेरापीसहित चारवटामा मंगलबार सिलबन्दी गरेको हो । – राजधानी दैनिकबाट

प्रतिक्रियाहरु

[anycomment]