ऊर्जामन्त्रीका उटपट्याङ्ग , विलासी गाडीको अनधिकृत प्रयोग

२०७३ मंसिर ६ गते, सोमबार

काठमाडौं, ६ मंसिर । ऊर्जामन्त्री जनार्दन शर्मा र राज्यमन्त्री सत्यनारायण भगतले अनधिकृत रूपमा विद्युत् प्राधिकरणका दुई आयोजनाका एक/एकवटा विलासी गाडी जबर्जस्ती झिकाई चढ्न थालेका छन् । मन्त्री र राज्यमन्त्रीको हैसियतमा सरकारले उपलब्ध गराएका दुई/दुईवटा गाडी हुँदाहुँदै शर्मा र भगतले प्राधिकरणका विलासी गाडीसमेत चढ्न थालेका हुन् । दुवैले चढेका गाडी टोयोटाको ल्यान्डक्रुजर हुन् ।
मन्त्री शर्माले प्राधिकरणको हेटौंडा–ढल्केबर प्रसारण लाइन निर्माण आयोजनाको र राज्यमन्त्री भगतले चमेलिया जलविद्युत् आयोजनाको गाडी चढेका छन् । विलासी यी दुवै गाडी सवा दुई करोडभन्दा बढी मूल्यका हुन् । शर्माले प्रसारण लाइन आयोजनाको बा१३च ५७९३ को रातो नम्बर प्लेटको गाडीमा रातो–नीलो प्लेट राखेर चढ्न थालेका छन् । रातो नीलो प्लेट राख्दा गाडीको नम्बरसमेत परिवर्तन गरी बा२झ ५७९३ राखिएको छ ।
राज्यमन्त्री भगतले चमेलिया आयोजनाको बा१झ १००९ नम्बरको गाडी चढ्न थालेका छन् । उनले बा६च १००९ नम्बरको चमेलियाका गाडी झिकाएर बा१झ नं. १००९ को रातो–नीलो प्लेट राख्न लगाई चढ्न थालेका हुन् । मन्त्री र राज्यमन्त्रीहरू रातो–नीलो प्लेटको गाडीमा चढ्छन् । मन्त्री शर्मा र राज्यमन्त्री चढेका दुवै गाडीका सरकारी नम्बर प्लेट नक्कली हुन् । ऊर्जा मन्त्रालयले यातायात कार्यालयलाई कुनै जानकारी नै नदिई अनधिकृत रूपमा मन्त्रीको गाडीमा बा२झ र राज्यमन्त्रीको गाडीमा बा१झ राखिएको जानकारी स्रोतले दिएका छन् ।
तत्कालीन प्रधानमन्त्री केपी ओली र तत्कालीन ऊर्जामन्त्री टोपबहादुर रायमाझीले समेत प्राधिकरण मातहतका आयोजनाका विलासी गाडी चढ्न खोजेका थिए । प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक मुकेश काफ्लेले दिन नमानेपछि उनीहरूले प्राधिकरणको गाडी चढ्न पाएनन् ।
प्राधिकरणका वर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङले दबाब थेग्न नसकेपछि मन्त्री शर्मा र राज्यमन्त्री भगतले आयोजनाका विलासी गाडी लगेर चढ्न थालेको जानकारी प्राधिकरण स्रोतले दियो । मन्त्री र राज्यमन्त्रीले कानुनबमोजिम गृह तथा सम्बन्धित मन्त्रालयबाटै चालकसहित गाडी, इन्धन तथा मर्मत सुविधा पाउँछन् । आफ्नो मन्त्रालय मातहतका संस्थान या विकास समितिका गाडी झिकाएर चढ्नु कानुनविपरीत हो ।
यसअघि तत्कालीन ऊर्जामन्त्री प्रकाशशरण महतले समेत यसरी नै अनधिकृत रूपमा चमेलिया जलविद्युत् आयोजनाको गाडी चढेका थिए । चमेलियाका टोयोटा ल्यान्ड क्रुजर गाडी आकर्षक र विलासी भएकाले तत्कालीन प्रधानमन्त्रीहरूले समेत अनधिकृत रूपमा झिकाएर चढेका थिए । महत पछाडि तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल र उनीपछिका झलनाथ खनालले समेत चमेलियाकै गाडी चढेका थिए । – कान्तिपुर दैनिकवाट

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु