प्रशान्त महासागरमा ७ म्याग्नेच्युटको भूकम्प , सुनामीको चेतावनी
काठमाडौ १० मंसिर । प्रशान्त महासागर केन्द्रविन्दु भएर ७ म्याग्नेच्युटको शक्तिशाली भूकम्प गएको छ । प्रशान्त महासागरमा गएको भूकम्पको धक्का मध्य अमेरिकी देश एल साल्भाडोर र निकारागुवामा समेत महसुस गरिएको छ । मध्य अमेरिकी तट केन्द्रविन्दु भएर भूकम्प गएको अमेरिकी भूगर्भ विभागले जनाएको छ ।
भूकम्पपछि सुनामीको चेतावनी दिइएको छ । एल साल्भाडोरको प्रशान्त महासागरको तटीय क्षेत्रमा रहेका बस्ती खाली गरिएको छ । भूकम्पका कारण भएको क्षतिको विवरण आएको छैन । भूकम्पपछि जारी गरिएको चेतावनीमा भूकम्पको केन्द्रविन्दुबाट तीन सय किलोमिटर परसम्म सुनामीका खतरनाक छाल आउने उल्लेख गरिएको थियो । पछि यो चेतावनी फिर्ता लिइएको छ ।
एल साल्भाडोर सरकारले भने सुनामीको चेतावनी कायम राखेको छ । एल साल्भाडोरबाट १ सय २० किलोमिटर पर प्रशान्त महासागरमा भूकम्पको केन्द्र हो । – एजेन्सी