बाँदरलाई शाही भोज !

काठमाडौं, १३ मंसिर । थाइल्याण्डको राजधानी बैंककमा बाँदरका लागि शाही भोज आयोजना गरिएको छ । भोजमा विभिन्न फलफुल, परिकार तथा पेय पदार्थको व्यवस्था थियो । आइतबार गरिएको सो भोजमा सयौं बाँदर सहभागी थिए । थाइल्याण्डमा प्रत्येक वर्ष बाँदरका लागि विशेष भोज आयोजना गर्ने परम्परा छ । प्रत्येक वर्ष नोभेम्बर महिनाको अन्त्यमा भोज आयोजना गरिन्छ । भोजमा पाँचतारे होटलको मेनुसरह खानेकुराको प्रवन्ध गरिएको हुन्छ ।
उत्तरी बैंकको लोपबुरी प्रान्तमा आयोजना गरिदैं आएको भोज विश्वमा चर्चित छ । उक्त भोज हेर्नका लागि विभिन्न मुलुकबाट पर्यटक आउने गर्दछन् । भोजलाई बाँदरले पनि निकै सहजताका साथ स्वीकार गर्ने गर्दछन् । त्यहाँ आउने पर्यटकसँग आत्मीयता देखाउने, पर्यटकको काँधमा चढ्ने गरेका दृष्य पनि देख्न सकिन्छ । बाँदरलाई मिठा परिकार खुवाउनाले मानिसको भाग्यबृद्धि हुन्छ भन्ने मान्यता स्थानीयमा रहेको पाइन्छ । करिब ८ सय वर्ष पुरानो हिन्दु मन्दिर परिसरमा १९८० को दशकदेखि यो परम्परा निरन्तर चल्दै आएको छ । – एजेन्सी