गन्जी र हाफ पाइन्ट लगाउँदै विरोध !

काठमाडौं, १४ मंसिर । भारतीय जनता पार्टीका विधायक विनय बिहारीले कुर्ता र पाइजामा फुकालेर गन्जी र हाफ पाइन्ट लगाउँदै विरोध जनाएका छन् ।
भारतीय संचारमाध्यमका अनुसार उनले आफ्नो कुर्ता केन्द्रीय सडक परिवहन मन्त्री नितिश गडकरीलाई पठाएका छन् भने पाइजामा बिहार राज्यका मुख्यमन्त्री नितिशकुमारलाई पठाएका छन् । भारतको बिहार राज्यका विधायक उनी सोमबार विधानसभा परिसरमा गन्जी र हाफ पाइन्ट लगाएरै पुगेका थिए । विधानसभा बैठकमा सहभागी हुन जान लागेका उनलाई बैठक कक्षमा प्रवेश गर्न भने सुरक्षाकर्मीले दिइनन् ।
लौरिया क्षेत्रका विधायक बिहारीले एक महिनादेखि पोशाकका नाममा गन्जी र हाफ पाइन्टमा आफूलाई सीमित राखेका हुन् । उनले आफ्नो चुनावी क्षेत्रमा ४४ किलोमिटर लामो सडक निर्माणका लागि तीन वर्षदेखि माग गर्दै आएका थिए ।
बिहार सरकारले उनको मागका सम्बन्धमा ध्यान नदिएपछि विरोध स्वरुप उनले कुर्ता र पाइजामा नलगाउने निधो गरेका हुन् । सोमबार बिहार विधानसभा बैठकमा प्रतिपक्षी दल भारतीय जनता पार्टीले विधायक बिहारीको मागबारे आवाज उठाएको थियो । विधानसभा अध्यक्षले यस सम्बन्धमा चाँडै ठोस निर्णय गर्ने आश्वासन दिएको बताइन्छ । विधायक बिहारीले भोजपुरी चलचित्रमासमेत अभिनय गरिसकेका छन् । उनी गायक पनि हुन् । उनले सडक निर्माण कार्य सुरु भएपछि मात्र आफूले कुर्ता पाइजामा लगाउने जनाएका छन् । – एजेन्सी