संविधान संशोधनको प्रस्ताव ल्याउन माग

२०७३ मंसिर १४ गते, मंगलवार

काठमाडौं, १४ मंसिर । सांसदहरुले संविधान संशोधन गर्दा राजनीतिक सहमति खोज्न सरकारलाई सुझाव दिएका छन् । व्यवस्थापिका–संसदको मंगलबारको बैठकमा सभामुखसँग समय लिइ उनीहरुले सहमतिमा संशोधन गर्दा सबैलाई सर्वस्वीकार्य हुने उल्लेख गर्दै छिटो सदनमा सरकारका तर्फबाट संशोधनको विधेयकको मस्यौदा ल्याउन माग गरे ।
मधेसी जनअधिकार फोरम नेपाल लोकतान्त्रिकका जितेन्द्रनारायण देवले सरकारलाई पहिले संशोधनको प्रस्ताव ल्याउन माग गरे । उनले न्यूनतम् सहमतिमा भएपनि सरकारले संविधान संशोधनको प्रस्ताव ल्याउन ढिलाइ गर्न नहुनेमा जोड दिँदै संशोधनले नै राजनीतिक स्थायित्व दिने बताए ।
सांसद डा. डिम्पलकुमारी झाले मधेसी जनताको भावनाअनुरुप संविधान संशोधनको प्रस्ताव ल्याउन सरकारसित माग गर्दै ‘सरकारले किन संशोधनको प्रस्ताव ल्याउन आलटाल गरिहेको छ ?’ भनी प्रश्न गरिन् ।
राप्रपाका दिलनाथ गिरीले सरकारले आफ्नो पार्टीलाई संविधान संशोधनकाबारेमा कुनै जानकारी नदिएको गुनासो गरे ।
नेमकिपाका प्रेम सुवालले ‘संविधान कार्यान्वयनका लागि संशोधन आवश्यक छैन’–भने ।
आगलागीपीडितलाई राहत माग
नेपाली कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्की र नेकपा एमालेका शेरधन राईले यही मंसिर ५ गते भोजपुरबजारमा भएको आगलागीका पीडितलाई राहत दिन सरकारसित माग गरे । सो आगलागीमा परी स्थानीय आठ घर नस्ट भएको थियो भने ५३ जना प्रभावित हुन पुगेका थिए । यसबाट करिब १० रु करोडको क्षति पुगेको बताइन्छ ।सांसद कार्कीले आगलागीपीडितलाई तत्काल आवास निर्माण गर्न सहुलितदरमा ऋण उपलब्ध गराउन र राहत प्रदान गर्न माग गरे ।
सांसद राईले आगलागी भएको एक हप्ता बितिसक्दा पनि सरकारले पीडितलाई राहत पुर्‍याउन नसकेको आरोप लगाए । उनले संविधान संशोधनको बहानामा संविधानको मर्ममाथि प्रहार गर्न नमिल्ने बताए ।
चन्दननाथ मन्दिरको मूर्तिचोर कहाँ ?
सांसदले यही मंसिर १२ गते जुम्लाको ऐतिहासिक मन्दिर चन्दननाथ मन्दिरबाट मूर्ति चोरिएको तर हालसम्म चोर पक्राउ गर्न नसक्नु सरकारको लापरबाही भएको बताए ।
सांसद गोमा कुँवरले प्रशासनको नाकमुनि नै रहेको मन्दिरबाट मूर्ति चोरी हुनु दुर्भाग्य रहेको बताउँदै सो घटनाकाबारेमा छानबिन गर्न माग गरिन् ।
सांसद प्रेमबहादुर सिंहले ऐतिहासिक मन्दिरबाट मूर्ति चोरी हुनु लाजमर्दाे भएको बताउँदै सरकारले यसकाबारेमा उच्चस्तरीय छानबिन समिति गठन गरी चोरलाई समात्न माग गरे । सांसद ललितजंग शाहीले सुरक्षा व्यवस्था फितलो भएका कारण चन्दननाथ मन्दिरबाट मूर्ति चोरी भएको जनगुनासो रहेको बताए ।- रासस

प्रतिक्रियाहरु

[anycomment]