आन्दोलनको तयारीमा शेर्पा समुदाय
काठमाडौं, १५ मंसिर । वर्तमान राजनैतिक अवस्थाका विरुद्ध आन्दोलनको लागि तयारी गर्ने शेर्पा समुदायले निर्णय गरेको छ । शेर्पा प्रदेश संयूक्त संघर्ष समितिको मगलबार बसेको अकस्मीक वैठकले यस्तो निष्कर्ष निकालेको हो ।
नेपाल शेर्पा संघका अध्यक्ष समेत रहेका समितिका संयोजक आङ दोर्जी शेर्पा लामाको अध्यक्षतामा बसेको वैठकले ‘संविधान संशोधनमा शेर्पा प्रदेश र वर्तमान राजनैतिक अस्थीरता चिर्ने गरी आउन नसक्ने’ भन्दै आन्दोलनको लागि तयार रहने निर्णय गरेको जनाएको छ ।
संविधान संशोधन हुँदा जातीय कलष्टरलाई नमिलाई ल्याउन लागेको उल्लेख गर्दै शेर्पाहरुले प्रदेश अनुसार शेर्पाको जातीय वसोवासको अवस्थालाई छिन्नभिन्न बनाएकाले आन्दोलनको विकल्प नभएको निष्कर्ष निकालेको आन्दोलन परिचालन समितिका संयोजक ल्हाक्पा शेर्पाले जानकारी दिए ।
शेर्पा समुदायले पहिचान सहितको संघीयता र शेर्पा प्रदेश प्राप्तिको लागि गरेको आन्दोलनको समेत वैठकले समिक्षा गरे । वैठकमा सहभागि कतिपयले शेर्पा समुदाय आन्दोलनमा होमिदै गर्दा कतिपय अगुवाहरु ‘औपचारिकता पूरा गर्न मात्रै देखिने’ गरेको आरोप लगाए ।
नेपाल शेर्पा विद्यार्थी मञ्चका अध्यक्ष निमा दोर्जे शेर्पाले समुदायमा मुद्दा बुझाउन अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिए । त्यस्तै, अधिकांशले आन्दोलन र मुद्दाका विषयमा विरूद्द गलत प्रचारबाजी गर्नेहरुको भण्डारफोर गर्नुपर्ने धारण राखे । आन्दोलनमा ओझपूर्ण भन्दापनि देखावटी सहभागिताले आन्दोलन शसक्त नहुने बताए ।
मुद्दालाई चरमचुलीमा उठाउनु पर्ने बेलामा समुदाय नै विभाजित देखिएको भन्दै अधिकांशले दुःख व्यक्त गरे । यस्तो अवस्था देखिनु नहुनेमा उनीहरुले जोड दिए ।
शेर्पा सञ्चार समूहका कोषाध्यक्ष कर्मा शेर्पाले आन्दोलन अनिवार्य भएपनि हाम्रो बुझाईले समस्या भएको बताए । संघीय शेर्पा संघका अध्यक्ष वाङछु शेर्पाले समुदायमा एकरूपता र नयाँ रणनीति जरुरी रहेको बताए ।
नेपाल शेर्पा संघका महासचिव ङावा सोनाम शेर्पाले ‘भ्रम चिर्ने प्रयास’ सहितको अभियान अघि बढाउनु पर्ने बताए । उनले संविधान संशोधनको प्रष्ट तस्वीर नआएको अवस्थामा आन्दोलनको विकल्प नभएको दाबी गरे । शेर्पा प्रदेश सम्बन्धमा सिमांकन गर्न सम्बन्धमा लविङ नभएको बताउँदै आन्दोलन परिचालन समितिका संयोजक लाक्पा शेर्पाले आन्दोलनका लागि सवै तयार रहनु पर्नेमा जोड दिए ।
वैठकमा पूर्वसभासद् आङ दावा शेर्पा, संघीय समाजवादी फोरमका केन्द्रीय सदस्यद्धय आङदेण्डी शेर्पा र आङकाजी शेर्पा किसान, नेपाल शेर्पा महिला संघका अध्यक्ष ङिमी शेर्पा, हिमालयन शेर्पा सांस्कृतीक केन्द्रका अध्यक्ष छिरिङ शेर्पा लगायतको उपस्थिती थियो ।