थारु वडघर प्रथाको संरक्षणमा चिन्ता व्यक्त
काठमाडौं, १६ मंसिर । बर्दियाको गुलरियामा कमैया महिला जागरण समाज नेपालले बुधबार आयोजना गरेको ‘दिगो स्थानीय विकासमा थारू प्रथाजनित सङ्गठनको भूमिकाः सम्भावना र चुनौती’ विषयक एक अन्तरक्रिया कार्यक्रममा पाँचहजार वर्ष पुरानो वडघर प्रथाको संरक्षण हुनुपर्ने सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् ।
गाउँमा वडघरले थारू संस्कृतिअनुसार गाउँमा वेठवेगारी, विकास निर्माणको काम गर्दा पनि सरकारी संरचनामा वडघर चेपुवामा परेको र दासका रुपमा प्रयोग भइरहेकाले तथा सरकारी संरचनामा थारू पहिचान नरहेकाले थारू वडघरको पहिचान हुनुपर्ने माग गर्दै राज्यको पुनःसंरचनामा वडघरको पहिचान हुनुपर्ने माग जिल्ला वडघर महासङ्घका अध्यक्ष रामशाही चौधरीले गरे ।
स्थानीय सरकारी निकाय र थारूप्रथाजनित सङ्गठन वडघर, नयाँ संरचनामा थारू वडघर तथा भल्मन्साले थारूको थनुवा (मन्दिर ) मर्मत गरेर आफ्ना देवीदेउता तथा हात्तीघोडाका मूर्तिहरुको दिगो संरक्षणमा लागेको जिल्ला वडघर महासङ्घका अध्यक्ष चौधरीले बताए ।
अन्तरक्रियामा स्थानीय सरकारी निकायमा दिगो विकासका लागि थारू प्रथाजनित सङ्गठनको भूमिकाका सकारात्मक पक्ष र सुधारात्मक पक्षको विषयमा गहन छलफल सरोकारवालाले गाउँका वडघर, जिल्ला विकास समिति र गाउँका अगुवासँग गरेको कमैया महिला जागरण सङ्घ नेपालका अध्यक्ष कृष्णी थारूले वताए । – रासस