ब्वायफ्रेण्डसंग आइफोन ठगेर घर खरिद !

काठमाडौं, १७ मंसिर । चीनको सेन्जेन प्रान्तकी एक महिलाले आफ्ना २० जना ब्वायफ्रेण्डलाई फकाएर सबैसंग आफ्नो लागि १।१ वटा आइफोन सेभेन किनाइन् । उनीसँग २० वटा आइफोन जम्मा भए । त्यसपछि उनले ती सबै आइफोन बेचिन् र त्यो पैसाले घर खरीद गरिन् ।
विबो सोसल साइटमा जियाओली नामले चिनिएकी ती युवतीले अनलाइनबाटै आइफोन बेचिन् र राम्रो रकम हात पार्न सफल भइन् । उनको त्यो किर्तिमानको सुरुवाती खुलासा उनको अफिसमा सँगै काम गर्ने सहकर्मीले एक ब्लगमार्फत गरिदिएका थिए । ती युवतीले आफुले किनेको घर आफ्ना साथीहरुलाई बोलाएर देखाइन् अनि घर किन्ने पैसा कसरी हात पर्यो भनेर पनि बताइन् । उनका कुरा सुन्दा सबैले जिब्रो टोक्नुको विकल्प थिएन ।
घर किन्न रोचक उपाय अपनाउने ती युवतीका बुवा आप्रवासी कामदार तथा आमा गृहिणी रहेको बताइएको छ । उनी घरकी जेठी छोरी रहेको र परिवारको जिम्मेवारी बहन गर्नका लागि उनले यस्तो तिकडम अपनाएर घर किन्न सफल भएको उनका सहकर्मीले बताएका छन् । ती युवती अहिले सोसल मिडियामा सेलिब्रेटी बनेकी छिन् । उनलाई सोसल मिडियामा धेरैले बधाइ दिएका छन् भने कतिपयले लाज नभएकी भनेर हप्काएका पनि छन् । – एजेन्सी