प्रेस काउन्सिलद्वारा चिनियाँ प्रतिनिधि मण्डलको स्वागत

२०७३ मंसिर १७ गते, शुक्रबार

काठमाडौं, १७ मंसिर । प्रेस काउन्सिल नेपालको आयोजनामा आज राजधानीमा चिनियाँ प्रतिनिधि मण्डलको स्वागत तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा प्रेस काउन्सिल नेपालका अध्यक्ष बोर्णवहादुर कार्कीले नेपाल भ्रमणमा रहेको चिनियाँ प्रतिनिधि मण्डललाई दोसल्ला ओढाएर स्वागत गर्दै भने – “ऐतिहासिक कालदेखि नै नेपाल–चीन सम्बन्ध समस्यारहित असल छिमेकीको रुपमा रहँदै आएको, चीनलाई संकटको अवस्थामा सहयोग गर्ने असल छिमेकीको रुपमा बुझ्दछौं, हामी एक चीन नीतिप्रति प्रतिवद्ध छौं ।” सो अवसरमा अध्यक्ष कार्कीले शान्ति र विकासको लागि नेपाली मिडियाले खेलेको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै चिनिया मिडिया र नेपाली मिडियाबीचको सहकार्यलाई अझ प्रभावकारी बनाउन सकेमा दुवै देशको लागि निकै उपलब्धीमूलक हुने धारणा राखे ।
कार्यक्रममा नेपाल–चाईना मिडिया फोरमका अध्यक्ष किशोर श्रेष्ठले चीन सरकार र त्यहाँका जनताले नेपालप्रति देखाएको असल छिमेकीपनको चर्चा गर्दै नेपाल –चीन सम्वन्धलाई थप उँचाईमा पु¥याउन दुवै देशका मिडियाको उत्तिकै भूमिका रहने धारणा व्यक्त गरे । चिनियाँँ प्रतिनिधिमण्डलका तर्फवाट लु योङ् मिङ्ले हजारौं बर्षदेखि दुईदेशबीचका जनताको सुसम्वन्ध रहेको स्मरण गराउँदै नेपालको समृद्धि र बिकासका लागि चीन सदैब तत्पर रहने बताए । सो अवसरमा मिङ्ले नेपालका विभिन्न स्थलमा भ्रमणका क्रममा खिचेको दशौंहजार तस्विरहरुको संगालो प्रेस काउन्सिललाई हस्तान्तरण गरे । ८२ जनाको उपस्थिति रहेको कार्यक्रम प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले सञ्चालन गरेका थिए ।
यस अबसरमा प्रेस काउन्सिल नेपालका अध्यक्ष बोर्णवहादुर कार्कीले चिनिया प्रतिनिधिमण्डलको स्वागतमा दिएको मन्तव्य –
“भ्रमणदलका नेता Mr. Lu Yong Ming
भ्रमणदलका चिनिया मित्रहरु,
डा. महेन्द्र बिष्ट, नेपाल पत्रकार महासंघ
नेपाल चाइना मिडिया फोरमका अध्यक्ष किशोर श्रेष्ठज्यू लगायतका साथीहरु,
प्रेस काउन्सिल नेपालका सदस्य तथा कर्मचारी साथीहरु,
आमन्त्रित पाहुना तथा उपस्थित व्यक्तित्वहरु, पत्रकार साथीहरु,
Mr. Lu Yong Ming र भ्रमणदलका सम्पूर्ण चिनियाँ मित्रहरुलाई प्रेस काउन्सिल नेपालको तर्फबाट हार्दिक स्वागत गर्दछु । चिनियाँ मित्रहरुको नेपाल भ्रमण सुखद, उपलब्धीमूलक होस् र यो भ्रमणले नेपाल र चिनियाँ जनताबीच असल छिमेकी अझ प्रगाढ बनोस् भन्ने कामना गर्दछु ।
ऐतिहासिक कालदेखि नै नेपाल–चीन सम्बन्ध समस्यारहित असल छिमेकीको रुपमा रहँदै आएको छ । नेपालको सार्वभौमसत्ता, अखण्डता, राष्ट्रिय एकता, शान्ति स्थायित्व र विकासको लागि चिनीयाँ जनता र चीन सरकारले निरन्तर गर्दै आएको सद्भाव र सहयोगको नेपाली जनता मुक्त कण्ठले प्रशंसा गर्दछन् । महाभुकम्पको बेला चीन सरकारले खुला दिलले गरेको सहयोग नेपालीहरुको मानसपटलमा अझै स्मरणीय छ । नेपाली जनताले चिनियाँ जनता र सरकारलाई संकटको अवस्थामा सहयोग गर्ने असल छिमेकीको रुपमा बुझ्छन् र सम्मान गर्दछन् । नेपाली जनतादेखि सरकारसम्म एक चीन नीतिप्रति प्रतिवद्ध रहँदै आएकाछन् । चीनको अहित हुनेगरी नेपाली भूमि प्रयोग गर्न नदिने प्रतिवद्धता नेपाली जनतामा निरन्तर रहँदै आएको छ ।
केही समययता नेपाली जनता बडो अप्ठेरो परिस्थितिबाट गुज्रिरहेकाछन् । महाभूकम्पबाट तहसनहस भएको हाम्रो मुलुक अहिले राजनीतिक द्वन्द्वबाट अस्वभाविक रुपमा गुज्रिरहेको छ । नयाँ संविधान जारी भएपछि शान्ति, स्थायित्व र विकासको बाटोतर्फ मुलुक अग्रसर भएकोमा त्यसमा अवरोध खडा गर्न केही बाह्य शक्तिले आन्तरिक, राजनीतिक द्वन्द्वलाई उक्साउँदै आएका मात्र छैनन् उनीहरु नेपाली भूमिलाई प्रयोग गरेर हाम्रा छिमेकी मुलुकमाथि प्रहार र नियन्त्रण गर्ने दुस्प्रयास पनि गर्दैछन् । नेपाली जनता र यहाँका मिडियाहरु यस्ता दुस्प्रयासलाई असफल गर्दै नेपाली भूमि छिमेकी विरुद्ध प्रयोग हुन नदिन अथक प्रयास गरिरहेकाछन् ।
चीनझैं नेपाली मिडियाको पनि तीव्र गतिमा विकास भइरहेको छ । आर्थिक, सामाजिक, राजनीतिक परिवर्तनमा शान्ति र विकासको लागि नेपाली मिडियाले खेलेको भूमिका उदाहरणीय छ । वर्तमान संकटमा पनि नेपाली मिडियाले जनता र राष्ट्रको लागि खेलेको भूमिका निकै महत्वपूर्ण छ । नेपाल र चीनबीचको सम्वन्धलाई जनस्तरमा पु¥याउने महत्वपूर्ण कार्य नेपाली मिडियाले गर्दै आएको छ । चिनिया मिडिया र नेपाली मिडियाबीचको सहकार्यलाई अझ प्रभावकारी बनाउन सकेमा दुवै देशको लागि निकै उपलब्धीमूलक हुने कुरा चिनिया मित्रहरुलाई स्मरण गराउन चाहन्छु । साथै तपाईहरुको नेपाल भ्रमण र अन्तरक्रियाले नेपाल–चीन सम्वन्धलाई अझ उचाईँमा पु¥याउने बिश्वास लिएको छु ।
प्रेस काउन्सिल नेपाल सम्पूर्ण नेपाली मिडिया र पत्रकारको नियमन गर्ने स्वतन्त्र र स्वायत्त संस्था हो । प्रेस स्वतन्त्रताको संरक्षण र सम्बद्र्धन गर्दै स्वस्थ पत्रकारिताको लागि पत्रकार र मिडियालाई जिम्मेवार र उत्तरदायी बनाउन निरन्तर प्रयास गर्दै आएको छ । प्रेस काउन्सिलले राष्ट्र र जनताको हितको लागि मात्र होईन छिमेकी मुलुकसंगको मित्रतालाई प्रगाढ बनाउन नेपाली मिडियालाई निरन्तर प्रोत्साहित गर्दै आएको छ । साथै सरकारीस्तरमा मात्र सीमित रहेको नेपाल–चीन सम्वन्धलाई जनस्तरमा पु¥याउन नेपाली मिडियाले खेलेको भूमिका प्रसंसनीय छ ।
अन्त्यमा चिनियाँ मित्रहरुको यो भ्रमण र अन्तरक्रिया कार्यक्रम चीनले गरेको अभूतपूर्व विकास, चिनिया जनता र सरकारले नेपालप्रति देखाएको असल छिमेकीपन बुझ्न निकै फलदायी हुने विश्वास लिएको छु । पुनः चिनियाँ मित्रहरुको हार्दिक स्वागत गर्दै यहाँहरुको नेपाल भ्रमण सुखद, उपलब्धीमूलक होस् भन्ने कामना गर्दछु । ”

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु