बाढीबाट एक जना बेपत्ता, ३० घर बगयो

२०७० असार ३ गते, सोमबार

दार्चुला, असार ३ – महाकाली नदीमा आएको बाढीले आइतबार राति दार्चुलामा एक जनालाई बगाएको छ ।
घर नजिकै आएको बाढी हेर्न जाँदा धाप गाविस वडा नंबर ५ की ३८ वर्षिया सरस्वती रैखोलालाई बगाएको प्रहरीले जनाएको छ ।बाढीले सदरमुकाम खलङ्गा ५ का ३० वटा घर बगाएको छ भने जिल्ला प्रहरी कार्यालय र जिल्ला अस्पताल उच्च जोखिममा परेका छन् । त्यसैगरी ब्रम्हदेव गाविसको कालागाड जलविद्युत परियोजनाको पावर हाउस पनि बाढीले बगाएको छ ।
भारत सरकारले धार्चुलाबाट कालापानीसम्मको सडक बनाउन थालेपछि नेपाली क्षेत्र डुबानमा परेको स्थानीयबासिन्दाले बताएका छन् । नदीले तटीय क्षेत्र कटान गरेर सडक समेत बगाएको छ । भारतीय सीमाक्षेत्र धार्चुला जोड्ने पक्की पुलमा समेत आवतजावत बन्द भएको छ ।
सीमावर्ती धार्चुलाका पनि दर्जनौं घर बाढीले बगाएको छ । उकु र दत्तुका दुईवटा झोलुङ्गे पुल पनि बाढीले बगाएको छ । वस्तीमा बाढी पसेपछि डरले दार्चुला सरमुकामका बासिन्दा रातभर जाग्राम बसेका छन् । अहिले सदरमुकाम दार्चुला खलंगामा र सीमावर्ती धार्चुलामा गाडी समेत चल्न सकेका छैनन् ।
यसैबीच भारतीय क्षेत्रमा रहेको धौलीगंगा जलविद्युत परियोजनाको बाँध फुट्ने खतरापछि भारतले नेपाल र भारतीय क्षेत्रमा बाँधको ढोका खोल्ने सूचना सार्वजनिक गरेको छ ।
बाढी आएर बस्ती बगाइरहेका बेला पानी खोल्दा झनै जनधनको क्षति पुग्ने भन्दै दार्चुलाका बासिन्दा चिन्तित बनेका छन । २ सय ८२ मेघावाट क्षमताको परियोजनाको बाँध भरिएर फुट्ने खतरामा परेको छ ।
अहिले नेपाली सेना, शसस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय बासिन्दा उद्दारमा जुटेका छन् । सदरमुकामभन्दा माथिल्लो क्षेत्रका ठाउँ ठाउँमा पहिरो गएको प्रहरीले जनाएको छ ।

प्रतिक्रियाहरु

[anycomment]