अर्घाखाँची र गुल्मी आजपनि ठप्प
काठमाडौं, २९ मंसिर । संशोधन प्रस्तावविरुद्ध आजपनि अर्घाखाँची र गुल्मी ठप्प पारिएको छ । प्रदेश नं ५ बाट पहाडी जिल्लालाई अलग गर्न सरकारले संसदमा दर्ता गरेको संविधान संशोधन प्रस्तावविरुद्धको प्रदर्शन विभिन्न जिल्लामा समेत कायम छ । अर्घाखाँची र गुल्मीमा १५ दिनदेखि बन्द गरिँदा जनजीवन कष्टकर बनेको छ । लामो बन्दको कारण जिल्लामा सर्वसाधारणको जनजीवन निकै कठिन बनेको हो ।
सबै बजार, उद्योग तथा कलकारखाना, यातायात सेवा ठप्प हुँदा सर्वसाधारणलाई सास्ती भएको छ । आन्दोलनकर्ताले दिनहुँ जिल्ला प्रशासन र जिविस कार्यालय अगाडि धर्ना दिने र फरक फरक प्रकृतिका प्रदर्शन गर्ने गरेका छन् ।
संशोधन प्रस्ताव फिर्ता नगर्दासम्म बन्दका कार्यक्रम यथावत् राख्ने ढिपी दलहरुले लिएका छन् । बुटवल, रोल्पा, पाल्पा, प्यूठानमा भने बन्द हडतालका कार्यक्रम नगरिएपनि विरोधका अरु उपाय अपनाइएको छ ।