संसदको बैठक सूचना टाँस गरेर स्थगित
काठमाडौं, ३० मंसिर । आज बिहान ११ बजेका लागि बोलाइएको व्यवस्थापिका संसद्को बैठक सूचना टाँस गरेर स्थगित भएको छ । बैठक सोमबार दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको हो । संसद्मा दर्ता भएको संविधान संशोधन विधेयकलाई अघि नबढाउने विषयमा सहमति नजिक पुगेकाले प्रमुख तीन दलको आग्रहमा सभामुख ओनसरी घर्तीले बैठक स्थगित गरेकी हुन् ।
सरकारले गत १४ गते संविधान संशोधन विधेयक संसद्मा दर्ता गराएपछि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद् बैठक अबरुद्ध पार्दै आएको छ । लगातार बैठक अबरुद्ध हुँदा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्धको महाअभियोग प्रस्ताव अन्योलमा पर्दै आएको छ ।