कालिगण्डकी कलेजलाई २४ घण्टे अल्टिमेटम
काठमाडौं, ७ पुस । नेकपा(माओवादी) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) नवलपरासी पछिल्लो समय शैक्षिक संघर्षमा लागेको छ । शैक्षिक क्षेत्रमा देखिएका विकृत विंसगति तथा शिक्षाको व्यापारीकरण र दलालीकरणको अन्त्यसहित समान र सर्वसुलभ शिक्षाको लागी भन्दै संघर्षअन्तर्गत शैक्षिक संघर्षको उद्घोष गरेको संगठनले पछिल्लो समय केही शैक्षिक संस्थाहरुलाई ज्ञापन पत्र बुझाउने देखी छलफल गर्ने, आन्तरिक व्यवस्थापन तथा शुल्क घटाउन माग गर्ने गरेको छ ।
यसैविच नवलपरासीको कावासोतिस्थित सिटिईभिटिको मान्यताप्राप्त कलेजले मनोमानी गरेको भन्दै १६ बुँदे ज्ञापनपत्र बुझाएको छ । कलेज प्रशासनमा भौतिक पूर्वाधार, आवश्यक सम्बन्धित बडापत्र, सिटिईभिटीले तोकेको भन्दा माथि शुल्क लिने, विद्यार्थीहरुसँग अनावश्यक बहानामा पैसा उठाउने, कालिगण्डकी सामुदायिक अस्पतालबाट सञ्चालित कालिगण्डकी सिएमए, एनम तालिम केन्द्रमा गर्न, शिक्षकहरुलाई उचित र तहअनुसार सेवासुविधा दिन, कलेजको दादागिरी अन्त्य गर्न लगायतका मागहरुसहित १६ बुँदे ज्ञापनपत्र बुझाउँदै आफ्नो संगठनको ध्यानाकर्षण भएको जनाएको छ ।
जिल्ला अध्यक्ष शिव डुम्रेद्धारा हस्ताक्षरीत विज्ञप्तीमा मागहरुलाई २४ घण्टाभित्र पूरा नगरी बेवास्ता गरिएमा संगठनले जस्तो सुकै संघर्ष गर्न बाध्य हुने र सो घटनाको जिम्मेवार स्वंयम कलेज प्रशासन नै हुनेसमेत चेतावनी दिईएको छ ।
स्मरण रहोस् केही दिन अगाडीमात्रै कुमारवर्ती क्याम्पस, कावासोतीमा गरिएको शुल्कबृद्धिविरुद्ध संघर्ष गरेको संगठनले गत पुष ५ मात्रै शुल्क घटाएर सहमति गरेको थियो । अध्यक्ष डुम्रेका अनुसार संगठनले सबै पब्लिक क्याम्पस, सिटिईभिटी मान्यताप्राप्त कलेजहरु, प्याब्सन, एनप्याब्सन तथा ईम्बोक्स सहित जिल्ला शिक्षा कार्यालयलाई ध्यानाकर्षण गरेर आफूहरुले शैक्षिक संघर्ष अगाडी बढाएको बताएका छन् ।