ढलको पानीले नुहाउने व्यवस्था !
काठमाडौं,१० पुस । उपत्यकाको ढलको पानी प्रशोधन गरेर नुहाउन मिल्ने बनाइने भएको छ । आयोजना कार्यान्वयन निर्देशनालय (पिआइडी)ले ढलको पानी सफा बनाउन काठमाडौं, ललितपुर र भक्तपुरका विभिन्न स्थानमा ढल प्रशोधन केन्द्र स्थापना गर्ने तयारी गरेको छ । ढलको पानी प्रशोधन गर्न पशुपतिको गुह्येश्वरी, भक्तपुरको सल्लाघारी, ललितपुरको बालकुमारी काड्कु र धोबीघाटमा केन्द्र सञ्चालन गरिन लागेको हो ।
अत्याधुनिक प्रविधिको प्रयोग गरी ढलको पानी नुहाउन मिल्ने गरी प्रशोधन गर्ने तयारी गरिएको निर्देशनालयका प्रवक्ता लीलाप्रसाद ढकालले बताए । उनका अनुसार प्रशोधित पानीलाई बागमतीमा पठाइनेछ । ढल प्रशोधन केन्द्रमा नेपाल सरकारको ४० प्रतिशत र एसियाली विकास बैँक (एडिबी)लगायत अन्य दातृनिकायको ६० प्रतिशत लगानी रहेको छ ।
प्रशोधन केन्द्र हरियाली बनाइने
प्रशोधन केन्द्र्रमा आधुनिक प्रविधिद्वारा कभरले ढाकिने भएकाले वरिपरिको वातावरणमा कुनै असर नपर्ने निर्देशनालयले जनाएको छ । छेउछाउमा रूख–बिरुवा रोपेर प्रशोधन केन्द्र हरियाली बनाइने ढकालले बताए ।
गुह्येश्वरी केन्द्र डेढ वर्षभित्रै सञ्चालनमा आउने
उपत्यकाका चार ढल प्रशोधन केन्द्रमध्ये गुह्येश्वरीको डेढ वर्षभित्र पूरा भई सञ्चालनमा आउने भएको छ । त्यसका लागि टेन्डर जारी भइसकेको छ । अरू तीन प्रशोधन केन्द्रको सबै प्रक्रिया पूरा भइसकेकाले टेन्डरको प्रक्रियामा रहेको ढकालले बताए ।
‘ढल प्रशोधन केन्द्र निर्माणका लागि एक चाइनिज कम्पनीसँग छलफल भइरहेको छ, सम्झौताको अन्तिम चरणमा छौँ,’ उनले भने । आगामी ०७६ पुसभित्र तीन प्रशोधनको काम पूरा गर्ने लक्ष्य राखिएको छ ।
दैनिक १० करोड लिटर प्रशोधन हुने राजधानीमा दैनिक १६ करोड लिटर पानी खपत हुँदै आएको छ । कुल खपत पानीको ८० प्रतिशत अर्थात् १२ करोड ८० लाख लिटर पानी ढल बन्ने निर्देशनालयको अनुमान छ ।
चार ठाउँमा ढल प्रशोधन केन्द्र स्थापना भई सञ्चालन भएमा दैनिक १० करोड लिटर ढल प्रशोधन हुनेछ । लक्ष्यअनुसार प्रशोधन हुन नसकेमा ललितपुरको खोकनामा ६ सय रोपनी जग्गा लिई पानी प्रशोधन गर्ने निर्देशनालयले योजना बनाएको छ । – नयाँ पत्रिका दैनिकबाट