‘ दलाललाई कालोमोसो मात्र हैन, जुत्ताको माला लगाएर जनताको कठघरामा ल्याउनु पर्छ ‘

काठमाण्डौ ,११ पुस । नेकपा (माओवादी)का महासचिव नेत्र विक्रम चन्द विप्लवले दलाल र तस्करहरुलाई कालोमोसो दल्ने मात्र हैन अब जुत्ताको माला लगाएर जनताको कठघरामा ल्याउने बेला आएको बताएका छन । पार्टीको अन्तराष्ट्रिय विभागले आज प्रज्ञा भवनमा आयोजना गरेको अक्टोबर क्रान्ति सय वर्ष पुगेको सन्दर्भको अन्तरक्रियामा बोल्दै महासचिव विप्लवले देशमा दलाल तस्करहरुले ठुलो ब्रम्हलुट मच्चाईरहेको भन्दै उनीहरुलाई जनकार्बाही गर्नुको विकल्प नभएको बताए । साथै उनले प्रचण्ड बाबुरामको अवसरवादी प्रवृतिका कारण क्रान्ति पछि परेको भन्दै क्रान्तिकारीहरुले पनि शाहसका साथ उचित कदम चाल्न नसक्नु पनि समस्या रहेको बताए । प्रचण्ड र बाबुराम भन्दा पनि मोहन बैद्य , नारायणमान विजुक्छे, र मोहन विक्रम सिंहहरु राष्ट्रवादी देखिएको भन्दै उनीहरुसगँ कार्यगत एकता गरेर राष्ट्रियताको पक्षमा उभिन छलफल गरीरहेको विप्लवको भनाई थियो । आसन्न फागुणमा हुने महाधिवेशन पछि पार्टीले राजनीतिक कार्यदिशालाई दह्रो बनाउने भन्दै महासचिव विप्लवले क्रान्तिबाट पार्टी बिचलित नहुने बताए ।
कार्यक्रममा माओवादी स्थायी समिति सदस्य धर्मेन्द्र बास्तोलाले कार्यपत्र प्रस्तुत गरेखा थिए । यसै गरी कार्यक्रममा बोल्दै क्रान्तिकारी माओवादीका नेता हरीभक्त कडेंलले प्रचण्ड बाबुरामको कारण क्रान्तिकारी शक्ति रक्षात्मक हुन पुगेको भन्दै अब सबै मिलेर पुनः अघि बढ्नु पर्नेमा जोड दिए ।
जनमोर्चाका सचिव हेमलाल पुरीले मशालका महामन्त्री मोहन विक्रम सिंहको कार्यपत्र पेश गर्दै सबै कम्युनिष्टहरु एक जुट हुनु पर्ने बताए ।
कुटनीतिज्ञ हिरण्यलाल श्रेष्ठले प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणका बेला भएका सम्झौताले देशलाई भारतको संरक्षित बनाउने षड्यन्त्र गरेको भन्दै सबैले डटेर विरोध गर्नु पर्ने बताए । उनले कम्युनिष्टहरु बाहिर हुदा क्रान्तिकारी र राष्ट्रवादी देखिने तर सत्तामा गए पछि राष्ट्रघाती र झुटो काम गर्ने देखिएको भन्दै सुध्रिन समेत आग्रह गरे । ईतिहासविद डा. सुरेन्द्र केसीले प्रचण्ड बाबुरामले कम्युनिष्ट चिन्तन र आदर्श छाडेको भन्दै जनयुद्धकालमै भारतीय भूमिमा उठबस गरेको र पछिल्लो समय आउदा ठूलो राष्ट्रघात गरेको बताए ।