ठोरीमा पर्यटकहरूको ओइरो
काठमाडौं , १५ पुस । जाडो मौसम बढेसँगै भारतीय एवं आन्तरिक पर्यटकहरूले ठोरीको पर्यटकीय स्थलहरू भरिभराउ हुन थालेका छन् । विशेष गरेर भारतीय एवं आन्तरिक पर्यटकहरू यस याममा वनभोज खान आउने गरेकाले राईधारा, रानीवन, बुलबुले, क्यामुना घारीलगायत वनभोज स्थल भरिभराउ भएको वनशक्ति युवा क्लबका अध्यक्ष धीरसिंह घिमिरेले जानकारी दिए । जाडो मौसम भए पनि यहाँको पानी तातो हुने, शान्त तथा मनोरम दृश्यहरूको अवलोकन गर्न पाउने आदि कारणले आकार्षित भएर पर्यटकहरू यो मौसममा प्रत्येक वर्ष बढी आउने गरेको घिमिरले बताए । वनभोजसँगै ठोरीको उच्च ठाउँमा रहेका रेडहिल तथा ह्वाइटहिल चढनसमेत पर्यटकहरू आउने क्रम बढेको स्थानीय शिक्षक चिरञ्जीवी सापकोटाले बताए । सापकोटा भन्छन्–“भारतीय पर्यटकहरूको घुम्ने र वनभोज खाने मुख्य स्थल ठोरी बनिसकेको छ । दैनिक आधा दर्जनभन्दा बढी भारतको विभिन्न शहरबाट स्कूल बसमा विद्यार्थीहरू आउँछन् । उनीहरू राईधारामा वनभोज गर्छन् । बाँकी समय रेडहिल र ह्वाइटहिल घुम्न रुचाउँछन् । ठोरी–५ मा रहेको डाँडा रातो माटोले बनेको छ । रातो माटोले बनेको पहाडलाई भारतीय पर्यटकहरू रेडहिलको संज्ञा दिन चढ्छन् र त्यहाँबाट नेपाल र भारतका गाउँहरू अवलोकन गर्न औधि रुचाउँछन् ।” दैनिक एक हजारभन्दा बढी भारतीय पर्यटक ठोरीको ब्यारेक खोला र धार्नी खोलामा रहेको झोलुङ्गेपुल भएर रेडहिल चढ्ने गरेको अर्का स्थानीय त्रिलोचनप्रसाद पराजुलीले जानकारी दिए ।
रेडहिल चढ्न बढी मात्रामा भारतीय पर्यटकहरू आउने गरेकाले त्यहाँ पर्यटकीय पूर्वाधारहरू पनि निर्माण हुन थालेका छन् । तर पूर्णता भने पाउन सकेको छैन । रेडहिलमा स्थानीय युवा जागृति क्लबले पर्यटन कार्यालयमार्फत् भ्यू टावर निर्माण गर्दैछ । यस्तै सोही ठाउँमा मनमोहन स्मृति पार्कसमेत निर्माण भइरहेको छ । पर्यटकहरू रेडहिल चढ्दा थकित भएमा थकान मार्न काठ र जस्ताको प्रतीक्षालयसमेत निर्माण गरिएको छ । रेडहिलबाट सुन्दर हिमशृङ्खलासमेत अवलोकन गर्न सकिने भएकोले विशेषतः भारतीय पर्यटकहरू यहाँ आउने गरेको पराजुलीको भनाइ छ । रानीवन, बुलबुले, क्यामुना घारीमा भने आन्तरिक पर्यटकहरू वनभोजका लागि आउने गरेको सापकोटाले बताए । अङ्ग्रेजी नयाँ वर्ष सन् २०१७ को पूर्वसन्ध्यामा बाह्य एवं आन्तरिक पर्यटकहरू आउने क्रम बढेको क्लबका अधयक्ष घिमिरेले बताए । अङ्ग्रेजी नयाँ वर्षका दिन विशेष गरेर भारतीय पर्यटकहरूको ठोरीमा ठूलो भीड लाग्ने गर्दछ ।