पोखरामा सडक महोत्सव
काठमाडौं, १६ पुस । १८ औं पोखरा सडक महोत्सव सुरु सुरु भएको छ । महोत्सव ‘ सडकमै खाऔं, सडकमै नाचौं, सडकमै रमाऔं ‘भन्ने नाराका साथ लेक साइडमा सुरु भएको हो । साढे ३ किलोमिटर सडकमा सवारी साधन समेत निषेध गरी आयोजना गरिएको महोत्सवमा विदेशी पर्यटक त झुम्ने गरेकै छन् त्यसमाथि देशका विभिन्न जिल्ला तथा शहरबाट पनि नेपालीहरु पुगेका छन् । पोखरा आसपासका स्थानका साथै काठमाडौं, चितवन, भैरहवा, विरगंज, विराटनगर र विभिन्न देशका पर्यटकको समेत उलेख्य सहभागीता रहेको छ । महोत्सवमा खानाका अनगिन्ती परिकारसंगै थरीथरीका साँस्कृतिक कार्यक्रमहरु रहेका छन् ।
त्यस्तै विविध खेलकुद कार्यक्रम, साहसिक एवम् मनोरञ्जनात्मक गतिविधि सम्बन्धी वृत्तचित्र तथा तस्विर प्रदर्शनी महोत्सवका आकर्षण रहेका छन् । यस पटक नेपालका दुई छिमेकी भारत र चीनका साँस्कृतिक कार्यक्रम समेत समावेश गरिएको छ । अंग्रेजी नयाँ वर्ष मनाउन विदेश जाने गरेका नेपालीहरु पनि पोखरातिर सोझिन थालेको पाइएको छ । आन्तरिक पर्यटकको चापका कारण लेकसाइडका करिब ७ सय होटलका २५ हजार बेड भरिभराउ भएको आयोजकहरुले बताएका छन् ।
भोलीसम्म चल्ने महोत्सवमा सडकमै रेष्टुरेण्ट चलाएर परिकार खुवाउनुका साथै वाल उद्यान सहित दोहोरी, लाइभ कन्सर्ट लगायतका कार्यक्रमहरु समेत राखिएकाले दर्शकले भरपूर मनोरञ्जन उठाएका छन् । अर्कोतर्फ ठूला तारे होटलहरुले नयाँ वर्षलाई स्वागत गर्न होटलमै विभिन्न कार्यक्रम आयोजना गरेका छन् ।