‘प्लटिङको जग्गा किन्ने अप्ठ्यारोमा पर्न सक्छन् ’

२०७३ पुष १८ गते, सोमबार

काठमाडौं, १८ पुस । स्वीकृति नलिई जग्गा खण्डीकरण (प्लटिङ) गरेको पाइएमा कारबाही गरिने काठमाडौं उपत्यका विकास प्राधिकरणलेजनाएको छ । जग्गा प्लटिङ गर्नुअघि स्थानीय निकायको सिफारिसमा प्राधिकरणबाट स्वीकृति लिनुपर्ने व्यवस्था छ । हालसम्म काठमाडौंमा १ सय ८०, ललितपुरमा १ सय र भक्तपुरमा १० प्लटिङले मात्र स्वीकृति लिएको प्राधिकरण विकास आयुक्त भाइकाजी तिवारीले जानकारी दिए ।
‘स्वीकृतिबिना गरिएका प्लटिङमा पानी, सडकलगायत सेवा सुविधा सहज रूपमा पाइँदैन, यो जग्गा रोक्का हुन्छ, किनबेच हुँदैन,’ उनले भने, ‘स्वीकृति नलिई प्लटिङ गरेको जग्गा झुक्याएर बेच्दा दुःख पाइने भएकाले किन्नुअघि प्लटिङको वैधानिकता बुझ्नुपर्छ, नत्र जग्गा किन्ने अप्ठ्यारोमा पर्न सक्छन् ।’
७२ कात्तिक र यस वर्ष मंसिरमा गरी दुई सूचना सार्वजनिक गरिएको छ । नियमविपरीत स्वीकृति नलिएका प्लटिङ किनबेचका लागि सिफारिस गर्ने स्थानीय निकाय, मालपोत र नापीका संलग्न कर्मचारीलाई पनि कारबाहीको दायरामा ल्याइने आयुक्त तिवारीले बताए ।

प्रतिक्रियाहरु

[anycomment]