लोकेन्द्र स्मृति पुरस्कारका लागि समिति
काठमाडौं, २२ पुस । नेपाल पत्रकार महासङ्घ शाखा सप्तरीले यस वर्ष पनि भव्यताका साथ लोकेन्द्र स्मृति दिवस मनाउने भएको छ । राजविराजस्थित नेपाल पत्रकार महासङ्घ शाखा सप्तरीको कार्यबाहक अध्यक्ष श्रवणकुमार देवको अध्यक्षतामा विहिबार यहाँ बसेको बैठकले सप्तरीका पत्रकार लोकेन्द्र बुढाथोकीको स्मृतिमा पुस २६ गते यो दिवस मनाउने निर्णय गरेको हो । बैठकले दिवसका प्रत्येक वर्ष लोकेन्द्र स्मृति दिवसका दिन प्रदान गरिने रु २,१०० राशिको लोकेन्द्र स्मृति पत्रकारिता पुरस्कार वितरणका लागि छनोट समिति समेत गठन गरेको छ । शाखाका पूर्व अध्यक्ष ब्यासशङ्कर उपाध्यायको संयोजकत्वमा गठन भएको समितिका सदस्यमा महासङ्घका कार्यसमिति सदस्य बृजमान तामाङ र महासङ्घका साधारण सदस्य एवम् रासस प्रतिनिधि राजु विश्वकर्मालाई चयन गरेको महासङ्घका कावा अध्यक्ष श्रवणकुमार देवले बताए । – रासस