ट्रम्पको अश्लिल भिडियो रुससँग रहेको दाबी

२०७३ पुष २७ गते, बुधबार

काठमाडौं, २७ पुस । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पको कथित अश्लिल भिडियो रुससँग रहेको दाबी एक प्रतिवेदनमा गरिएको छ । अन्तर्राष्ट्रिय संचारमाध्यममा हालै प्रकाशमा आएको रिपोर्ट अनुसार रुससँग ट्रम्पको अश्लिल भिडियो भएकै कारण कुनै पनि समय उनी रुसी ब्ल्याकमेलिङको शिकार हुन सक्छन् । अमेरिकी गुप्तचर अधिकारीहरुले यसबारेमा ट्रम्पलाई समेत जानकारी दिइएको बताइएको छ । यद्यपि ट्रम्पले यस्तो समाचारमा कुनै सत्यता नरहेको दाबी गरेका छन् ।
समाचार एजेन्सीहरुका अनुसार यो तथ्य ब्रिटिश गुप्तचर एजेन्टहरुले तयार गरेको प्रतिवेदनमा उल्लेख छ । ‘ब्रिटिश एजेन्टलाई रुसी स्रोतले बताएअनुसार उनीहरुसँग अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पसँग सम्बन्धित आश्चर्यजनक जानकारी छ, जसमा ट्रम्पको एक गोप्य भिडियो पनि छ । उक्त तथ्यहरुका आधारमा ट्रम्पलाई ब्ल्याकमेल गर्न सकिन्छ,’ सो प्रतिवेदनमा भनिएको छ । मस्कोको एक होटलमा ट्रम्प बसेको समयमा उक्त भिडियो लिइएको बताइएको छ । भिडियोमा यौनकर्मीका साथ ट्रम्प रहेको दाबी गरिएको छ ।
अमेरिकी गुप्तचर, सांसदहरु र अन्य विशिष्ट अधिकारीहरुमाझ यो तथ्य यतिबेला चर्चाको विषय बनिरहेको छ । सोही प्रमाणका आधारमा रुसले पाँच वर्षदेखि ट्रम्पको समर्थन गर्दै आएको बताइएको छ । स्रोतका अनुसार यो प्रतिवेदन पूर्व ब्रिटिश गुप्तचर एजेन्टले ट्रम्पका राजनीतिक विरोधीहरुका लागि तयार गरेका थिए । रुसी अधिकारीहरुले ट्रम्पसँग सोही भिडियोका आधारमा केही महत्वपूर्ण सम्झौता गरेको दाबी पनि उक्त प्रतिवेदनमा गरिएको छ । उल्लेखनीय छ, ट्रम्पले रुससँगको अमेरिकी नीतिमा परिवर्तनको वकालत गर्दै आएका छन् भने ट्रम्पको जितमा रुसको महत्वपूर्ण भूमिका रहेको चर्चा यसअघि नै चल्दै आएको थियो । ट्रम्पका केही अश्लिल गतिविधि तथा कथित यौन शोषणमा उनी संलग्न रहेको आरोप अमेरिकामै केही महिलाले यसअघि नै लगाउँदै आएका थिए । – एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]