‘एलो फिभर’का कारण ३० जनाको मृत्यु
काठमाडौँ, २९ पुस । ब्राजिलियाली राज्य मिन जर्ममा विगत एक हप्तादेखि फैलिएको ‘एलो फिभर’का कारण उक्त क्षेत्रमा शुक्रबारसम्म कम्तीमा ३० जनाको मृत्यु भएको यहाँका स्वास्थ्य अधिकारीले बताएका छन् । स्वास्थ्य सचिवालयकाअनुसार कम्तीमा ३० जनाको ‘एलो फिभर’का कारण मृत्यु भएको छ भने बिरामीका अरु १० नमुनामा उक्त रोगको संक्रमण पुष्टि भएको साथै १०० भन्दा बढी शंकास्पद बिरामी भेटिएका छन् ।
‘एलो फिभर’ एक प्रकारको कडा भाइरलको संक्रमणबाट विकसित हुने रोग हो । यदि उक्त भाइरलको संक्रमणपछि एक हप्ताभित्र बिरामीले उपचार नपाएमा बिरामीको जीवन अत्यन्तै जोखिममा पर्छ । यो भाइरस बाँदरका प्रजातिमा प्रायः देखिने गर्छ । मानिसमा भने यो रोग ‘एलो फिभर’को भाइरसबाट संक्रमित पोथी लामखुट्टेको टोकाइबाट सर्ने गर्छ । – रासस/सिन्ह्वा