नुवाकोटको गोरुजात्रा

२०७३ माघ १ गते, शनिबार

काठमाडौं, १ माघ । माघेसङ्क्रान्तिको अवसरमा नुवाकोटको तारुका क्षेत्रमा गोरु जुधाएर मनोरञ्जन लिने प्रचलन झण्डै दुई सय वर्ष पुरानो हो । तत्कालीन बझाङ्गी राजा जयपृथ्वीबहादुर सिंह आफ्नो मावली घर नुवाकोटको तारुका जाँदा भान्जालाई मनोरञ्जन दिन मामाहरूले आफ्नो गोठमा पालेको अजङ्गको साँढे जुधाएका थिए भन्ने स्थानीय बयोवृद्धहरू बताउँछन् । देशका विभिन्न भागमा कुनै समय भाले, राँगा जुधाएर मनोरञ्जन लिने परम्परा नभएको होइन तर अहिले लोप भइसकेको छ । गोरुजुधाई भने राजाहरूले सुरुवात गरेकाले अहिलेसम्म चलिआएको बताउनुहुन्छ तारुकास्थित स्थानीय ८४ वर्षीय विश्मराज ढुङ्गाना ।
नेपालमै गोरुजात्रा हुने एकमात्र जिल्ला हो नुवाकोट । यहाँको तारुका गाविसस्थित चन्दनीको कोदोबारीमा यस वर्ष पनि आजै माघ १ गते १८ हल गोरु जुधाएर मनोरञ्जन दिने तयारी रहेको आयोजक माघेसङ्क्रान्ति गोरु जुधाई संरक्षण संस्थाका अध्यक्ष दिपेश शाक्य बताउनुहुन्छ । मेला नेपालको विभिन्न भागबाट हजारौँ दर्शकले अवलोकन गर्ने गरेका छन् । राजधानी काठमाडौँसँगै जोडिएको नुवाकोटको तारुकाका लागि यो मौलिक परम्परा बनिसकेको छ । दशैँ तिहारजस्ता हिन्दु आस्थाका चार्डपर्वमा समेत घर नफर्कनेहरू माघेसङ्क्रान्तिमा साँढेको घम्साघम्सी हेर्न घर आउने चलन छ ।
आफन्त तथा साथीसँग मेलमिलाप गर्ने र भेटघाटको अवसरको रूपमा समेत तारुकावासीले यस पर्वलाई महŒवका साथ लिने गरेको पाइन्छ । तारुकामा हुने गोरुजात्रा आन्तरिक तथा बाह्य पर्यटकका लागि मनोरञ्जनको गतिलो माध्यम हुन सक्ने स्थानीय र अन्य पर्यटन व्यावसायीको विश्वास छ । अन्तर्राष्ट्रिय स्तरमा मनोरञ्जनको अनुपम खेल सौगात मानिने गोरु जुधाउने परम्पराको संरक्षण गरी प्रचारप्रसार व्यापक हुनु जरुरी देखिन्छ ।
घ्यू, चाकु, तरुलजस्ता मीठा–मीठा परिकार खाएर मनाइने माघेसङ्क्रान्ति पर्व तारुकामा भने जिब्रोको स्वाद फेर्ने परम्परामा मात्र सिमित छैन । गाउँका अजङ्गका साँढेहरू जम्मा पारेर बाजी थाप्दै जुधाइने यो प्रतियोगितालाई तारुकावासीले परम्पराको रूपमा कायम राखेका छन् । शनिबार तारुकाको पहिचान, देशकै स्वाभिमान भन्ने नाराका साथ गोरुजात्रामा १८ हल गोरु जुधाइने तयारी छ ।
गोरु जुधाउनेहरूले आफूले गुन्द्रुक खाएर गोरुलाई मास, भटमास, अण्डा, कोदोको खोले, मकै आदि पोसिला आहार खुवाएर पाल्छन् । जुरो ढल्किएका चिल्ला साँढे जुधाउने तयारी गरिरहेका छन् स्थानीय किसानले ।
प्रतियोगितामा जुधेका गोरुमध्ये जसको गोरु पहिला भाग्छ, उसैको गोरुले हारेको र अर्को पक्षकाले जितेको ठहरिन्छ । मोटा बलिया बहरगोरुहरू लगातार एक घण्टासम्म भिड्ने गर्छन् । विगत केही वर्षदेखि नुवाकोट, धादिङ, रसुवा, काठमाडौँ लगायतका जिल्लाबाट दर्शकहरूको उपस्थिति बढ्न थालेपछि जात्रा व्यवस्थापन गर्न आयोजकले स्वयंसेवकहरू समेत खटाउने गरेको छ । यो परम्पराको निरन्तरता मात्र होइन, गाउँलेको एकताको नमुना पनि हो । केही वर्षदेखि राष्ट्रिय सञ्चार माध्यमले यहाँको मेलालाई विषेश प्राथमिकता दिनाले पर्यटकीय प्रवद्र्धनमा सहयोग पुगेको छ । -विष्णु तारुके, गोरखापत्र

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

कुलेखानी–कलंकी–हुमाने सडकखण्ड बन्द

२०८२ जेष्ठ ३ गते, शुक्रबार

बस दुर्घटना, १५ जना घाइते

२०८२ जेष्ठ ३ गते, शुक्रबार

कीर्ते कागजात बनाउने पक्राउ

२०८२ जेष्ठ २ गते, बिहीबार