लोकमानलाई कालोमोसो दल्नेहरुलाई अभिनन्दन गरिने

२०७३ माघ ८ गते, शनिबार

काठमाडौं, ८ माघ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालिन प्रमुख लोकमानसिंह कार्कीमाथि कालोमोसो दल्ने दुई युवा गत शुक्रबार थुना मुक्त भएका छन् । नेकपा (माओवादी) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्य चन्द्र बुढा र प्रकाश शाहीले लोकमान कार्की माथि भ्रष्टाचारको आरोप लगाउँदै सर्वोच्च अदालत परिसर भित्रै कालोमोसो दलेका थिए । उनीहरुलाई अदालतको अपहेलना गरेको अभियोगमा सर्वोच्च अदालतले एक महिना कैद सजायको फैसला गरेको थियो । यसैक्रममा अखिल (क्रान्तिकारी) ले थुनामुक्त भएका आफ्ना केन्द्रीय सदस्य चन्द्र बुढा र प्रकाश शाहीलाई सम्मान गरेको छ । बुढा र शाहीको सम्मानमा महानगरीय प्रहरी परिसर टेकुबाट सुरु भएको ¥याली त्रिपुरेश्वर चोकमा पुगेर कोणसभामा परिणत भएको थियो । कोण सभालाई अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्ष पूर्णबहादुर सिंहले सम्बोधन गरेका थिए । कार्यक्रममा बोल्दै सिंहले अखिल क्रान्तिकारीले भ्रष्टाचारबिरोधी आन्दोलन निरन्तर जारी राख्ने र भ्रष्टाचार गर्ने जोकोहीलाई पनि नछाड्ने बताएका थिए ।
यसै सिलसिलामा आइतबार अखिल (क्रान्तिकारी) केन्द्रीय समितिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालिन प्रमुख लोकमानसिंह कार्कीमाथि कालोमोसो दल्ने आफ्ना केन्द्रीय सदस्य चन्द्र बुढा र प्रकाश शाहीलाई अभिनन्दन गर्ने भएको छ । उनीहरुलाई आइतबार नेकपा (माओवादी) महासचिब विप्लवबाट अभिनन्दन गर्ने कार्यक्रम रहेको अखिल क्रान्तिकारीले बताएको छ । आज दिउसो १२ बजे कमालादीस्थित प्रज्ञा प्रतिष्ठानमा हुने सो अभिनन्दनमा कालोबजारी र भ्रस्टाचारबिरुद्ध आवाज उठाउने आमजनसमुदायलाई समेत उपस्थित हुन् अखिल क्रान्तिकारीले अपिल गरेको छ ।

प्रतिक्रियाहरु

[anycomment]