असफल राष्ट्र नबनाउ

२०७३ माघ ८ गते, शनिबार

देश यतिबेला गम्भीर संकटमा परेको छ । संसद्वादी दलहरु, सरकार र सत्ताको छिनाझम्टीमा अल्झिरहेका छन् । उनीहरुलाई देश र जनताको कुनै चिन्ता छैन । वैदेशिक हस्तक्षेप दिनप्रतिदिन बढ्दै गइरहेको छ । सरकार र संसद्वादी दलहरु कै कारण देशको अस्तित्व नै संकटमा पर्नसक्ने स्थिति आएको छ । यसबीच, भारतबाट आउने जहाज काठमाडौँमा बस्नुपरे, त्यसमा चढेर आएका भारतीय हतियारधारी सुरक्षाकर्मीलाई बासको व्यवस्था गरिदिन भन्दै घुमाउरो पाराले आफ्नो सुरक्षाकर्मी नेपाल भित्र्याउने रणनीति अगाडि सारेको सार्वजनिक भएको छ भने हालै कैलालीको धनगढी क्याम्पस रोडस्थित हुलाकी मार्ग हस्तान्तरण कार्यक्रममा भारतको राष्ट्रिय गान बजाइएको छ । भारतको यी र यस्ता अनेकौँ हर्कत हेर्दा उसको हस्तक्षेपले सीमा नाघिसकेको प्रष्ट देखिन्छ । तर, नेपालको सरकार र संसद्वादी दलहरु देश र जनता लुट्नमै व्यस्त छन् । उनीहरु १० वर्षे जनयुद्ध र १९ दिने जनआन्दोलनको मर्मविपरीत ल्याएको संविधान जोगाउन र त्यसैबाट आफ्नो लुटको स्वर्ग बचाउन तल्लिन छन् । सरकार र संसद्वादी दलहरुको यस्तै हर्कतले देश कतै असफल राष्ट्रको रुपमा दर्ज हुने त होइन भन्ने चिन्ता अहिले आमजनमानसमा परेको छ । यस्तो अवस्थामा सरकार र संसद्वादी दलहरुले देश र जनताको पक्षमा उभिएका तथा १० वर्षे जनयुद्ध र १९ दिने जनआन्दोलनको रक्षाका खातिर सतिसाल भएर उभिएका नेकपा (माओवादी) लगायतका दलहरुसँग सहमति र सहकार्य गरेर अगाडि बढ्नुको विकल्प छैन । देशका तमाम दलहरु एकजुट भए मात्र देश वैदेशिक हस्तक्षेपबाट मुक्त भई अग्रगमनतर्फ बढ्न सक्छ । यसतर्फ सरकार र संसद्वादी दलको ध्यान पुग्नु जरुरी । अन्यथा सरकार र सत्ताको लागि मरिहत्ते मात्र गर्दा ‘भुइँको टिप्न खोजदा पोल्टाको समेत पोखिन सक्छ’ भन्ने उखान संसद्वादी दलहरुको निम्ति चरितार्थ हुन सक्छ । यसतर्फ संसद्वादी दलहरुले गम्भीर भएर सोच्नु आवश्यक छ । अन्यथा समयले यी संसद्वादी दलको अस्तत्व नामेट पार्ने निश्चित छ ।

प्रतिक्रियाहरु

[anycomment]