आज हिले जात्रा

२०७० असार ९ गते, आईतवार

काभ्रेपलाञ्चोक, ९ असार । प्रत्येक वर्ष जेठ शुक्ल पूर्णिमाका दिन मनाइने पनौती जात्रा आज भव्यताका साथ मनाइदैछ। तीनदिन अघि औपचारिक रुपमा जात्रा सुरु भए पनि आजको दिनलाई विशेष महत्वका साथ पनौतीबासीले लिने गरेका छन् । पनौती जात्रालाई हिले, ज्या पुन्ही, घुमजात्रा लगायतको नामले चिनिने गरिन्छ । परापूर्वकालमा गौतम ऋषिकी पत्नी अहित्यासँग अनैतिक सम्बन्ध राख्ने इन्द्रको श्रापमोचनका रुपमा पूर्णिमाको दिन बिहान सबेरै नुहाएको किंवदन्तीको आधारमा पनौतीको पुण्यमाता र रोशीको सङ्गममा स्नान गर्ने भक्तजनहरुको आज बिहानैदेखि घुइँचो लागिरहेको छ । आजकै दिन ब्रम्हायणीलाई रथयात्रा गरी नगर परिक्रमा गराई लाय्कु दरबारको प्राङ्गणमा पु¥याइन्छ ।
त्यस्तै विभिन्न मौलिक बाजागाजासहित द्वारे र भद्रकाली, भैरव र महादेवको मूर्ति रथमा राखिन्छ । यसरी रथमा राखिएको मूर्तिलाई पुन ः लाय्कु दरबारमा ल्याइन्छ । त्यसपछि देवी–देवताको सम्भोगको रुपमा भैरव र भद्रकाली, महादेव र भद्रकालीबीच ३–३ पटक रथ जुधाइन्छ । यस दिन पनौती क्षेत्रमा चिउरीको अत्याधिक व्यापार हुने गरेको छ ।
साझँ चिराक बालेर ब्रम्हायणीमाईलाई नगर परिक्रमा गराई पनौतीको सोह्रखुट्टेपाटीमा रहेको देउताघरमा भित्र्याउने र जात्राको समापन गरिने प्रचलन रहदै आएको छ । तर बढ्दो आधुनिकतासँगै जात्रामा बजाइने पुराना बाजाहरु लोप हुन थालेपछि पनौतीका पुराना पुस्ता निकै चिन्तित बनेका छन् ।

प्रतिक्रियाहरु

[anycomment]