‘सगरमाथाको उँचाइ नाप्न दिने सहमति भएको छैन’
काठमाण्डौं , १२ माघ । नापी विभागका उपमहानिर्देशक गणेश भट्टले सगरमाथाको उँचाइ नाप्न दिनेबारे भारतसंग कुनै सहमति नभएको बताए। भट्टले भने, “गत वर्ष सीमासंबन्धी दुईदेशीय बैठकमा भारतीय पक्षले त्यस्तो प्रस्ताव ल्याएको थियो। तर हामीले त्यो प्रस्तावलाई एजेण्डामै राख्न दिएनौं।” उनले कुनै विदेशी सरकारले नेपाल सरकारको अनुमति लिएपछि मात्रै सगरमाथाको उँचाइ मापन गर्न सक्ने पनि बताए । उनले नेपाल सरकार आफैले सगरमाथाको उँचाइ मापन गर्नेबारे विचार गरिरहेको पनि जानकारी दिए।
यसअघि भारतीय सर्वेक्षण विभागले झण्डै दुई वर्ष अघि गएको भूकम्पका कारण विश्वको सर्वोच्च शिखर सगरमाथाको उँचाइ बढेको छ वा घटेको छ भन्नेबारे निधो गर्न छिट्टै एउटा टोली त्यसतर्फ पठाइने जनाएको थियो।
विभागका सर्वेयर जनरल स्वर्ण सुब्बा रावले नेपाली विशेषज्ञहरु सहितको टोली केही महिनाभित्रै सगरमाथाको आरोहणमा जाने पनि बताएका थिए।
उनले भने, “केही वैज्ञानिकहरुले भूकम्पका कारण सगरमाथाको उँचाइ घटेको बताएका छन् भने केहीले उँचाइ बढेको हुनसक्ने बताएका छन्। त्यही निधो गर्न हामीले त्यस्तो टोली पठाउन लागेका हौं।”
सर्वेयर जनरल रावले ३० सदस्यीय आरोहण टोलीलाई सगरमाथा क्षेत्रको सर्वेक्षण गर्न एक महिना र संकलित तथ्याँकको विश्लेषण गर्न थप १५ दिन लाग्ने बताएका थिए। वैज्ञानिकहरुका अनुसार सन् २०१५ को भूकम्प पछि स्याटलाइटहरुबाट खिंचिएका तस्वीरहरुले काठमाडौंभन्दा उत्तरतर्फ रहेका केही चुचुराहरु झण्डै एक मिटरसम्म धसिएको देखाएका थिए। तर सगरमाथाको उँचाइको बारेमा भने ती तस्वीरहरुले स्पष्ट कुनै संकेत गरेका थिएनन्। ६२ वर्ष अघि तत्कालिन ब्रिटिश इण्डियाले पठाएको एक टोलीले सगरमाथाको उँचाइ आठहजार आठसय अडचालिस मिटर रहेको देखाएको थियो। – बीबीसी