‘यो देश दलाल र गद्दारहरुको होइन ’

२०७३ माघ १५ गते, शनिबार

काठमाडौँ, १५ माघ । नेकपा (माओवादी)का महासचिव विप्लवले यो देश दलाल र गद्दारहरुको नभएको बताएका छन । उनले भने ’ आवश्यक प-यो भने सेना–प्रहरीहरूले पनि आ–आफ्नो बर्दी खोलेर हामीलाई साथ दिनुपर्दछ । यो देश हाम्रो हो । यो देश नेपालीको हो, दलाल र गद्दारहरुको होइन ।” अखिल नेपाल जनसांस्कृतिक महासङ्घ, केन्द्रीय समितिद्वारा राष्ट्रिय नाचघर, जमलमा आयोजित राष्ट्रिय स्वाधीनका पक्षमा बृहत् सांस्कृतिक कार्यक्रममा महासचिव विप्लवले सो कुरा बताएका हुन् । सो कार्यक्रमका प्रमुख अतिथि विप्लवले नेपालको हरेक परिवर्तनमा लेखक साहित्यकार, कलाकारहरूले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेको भए पनि राज्यसत्ताले उचित संरक्षण दिन नसकेको बताए । जनयुद्धमा मात्रै १५० भन्दा बढी संस्कृतिकर्मीहरूको सहादत भएको स्मरण गर्दै विप्लवले आफ्नो पार्टीले देश र जनताका निमित्त एवम् परिवर्तनका पक्षमा प्रतिवद्ध रहेका र निरन्तर खटिरहेका सबै संस्कृितकर्मीहरूको संरक्षण गर्ने ठोकुवा गरे ।
कार्यक्रममा ’ नेपालका वरिष्ठ गीतकार रायन श्रेष्ठले ’देशभक्त नेपालीको यौटै छ कुरा, महाकालीको शिर हो लिम्पियाधुरा ’ बोलको गीत गाइरहँदा दर्शकदीर्घा राष्ट्रियताको भावनाले जुरुक्क उठेको थियो । उनलाई सामना परिवारले सघाएको थियो ।
अखिल नेपाल जनसांस्कृतिक महासङ्घले समाजभित्र रहेका जातीय उत्पीडन, लैङ्गिक विभेद, क्षेत्रीय उत्पीडन, वर्गीय उत्पीडन तथा सम्पूर्ण विभेद र कू–संस्कृतिका विरुद्ध नेपाली समाजमा नयाँ जागरण ल्याउने, सचेतना जगाउने, देशप्रेमको भावना जगाउने, भातृत्वको सन्देश भर्ने, नयाँ जनसंस्कृतिको निर्माण विकासमा आफ्नो अमूल्य योगदान पु¥याउन नेपाली धर्तीमा जुझारु भूमिका निर्वाह गरेको कुरा सर्व्विदितै छ ।
नेपाली जनताका रहेको देशभक्तिपूर्ण भावना र परिवर्तनकारी सोचलाई झकझक्याउनु, जागरुक बनाउनु र राष्ट्रप्रति हुने हरेक राष्ट्रघाती कदमप्रति जनतालाई सचेत र सजग गराउने उद्देश्य रहेको सो कार्यक्रममा अखिल नेपाल जनसांस्कृतिक महासङ्घ, राष्ट्रिय जनसांस्कृतिक महासङ्घ, जनसांस्कृतिक महासङ्घ, चुन–शिल्पा सांस्कृतिक परिवार, रक्तिम सांस्कृतिक अभियान, अखिल नेपाल जनसांस्कृतिक महासङ्घ, राष्ट्रिय नाचघर, सामना सांस्कृतिक परिवार, अखिल नेपाल क्रान्तिकारी चलचित्र सङ्घ, अखिल नेपाल लोककलाकर्मी सङ्घ र चिराग जनसांस्कृतिक परिवारलगायत सांस्कृतिक संस्थाहरूको सहभागिता रहेको थियो भने रायन श्रेष्ठ, जेबी टुहुरे, माधव प्रधान, लक्ष्मी गुरुङ, कुश्मिता दर्लामी, आरोह नेपाली, ढुण्डी अधिकारी, रमण थामी, रमेश विकलगायत तीनै पुस्ताका कलाकारहरूले एकल तथा सामूहिक गीत प्रस्तुत गरेका थिए ।
कार्यक्रममा अखिल नेपाल जनसांस्कृतिक महासङ्घ, केन्द्रीय समितिको केन्द्रीय प्रकाशन ‘नयाँ संस्कृति’ को पनि सार्वजनिकीकरण गरिएको थियो ।

प्रतिक्रियाहरु

[anycomment]