माओवादी रामेछापकाे सचिवमा सन्तोष कोइराला

२०७३ माघ १६ गते, आईतवार

काठमाडौं, १६ माघ । नेकपा (माओवादी) रामेछापको सचिवमा सन्तोष कोइराला निर्वाचित भएका छन् । रामेछापको मन्थली सिर्जनानगरमा शनिबार सम्पन्न चौथो जिल्ला सम्मेलनले कोइरालाको नेतृत्वमा २५ सदस्यीय जिल्ला समिति चयन गरेको हो । सम्मेलन उद्घाटन र माओवादी केन्द्र, विद्यार्थी संगठन र युवा संगठनबाट ध्रुवीकरणमा आएका विद्यार्थी नेतालाई स्वागत गर्दै माओवादी पोलिटब्युरो सदस्य भरत बमले अबको क्रान्ति राष्ट्रियता, जनतन्त्र र जनजीविकालाई केन्द्रमा राखेर भ्रष्ट र दलालका विरुद्ध केन्द्रित हुने धारणा व्यक्त गरे । बमले अखिल क्रान्तिकारीका रामेछाप जिल्ला क्षेत्रीय संयोजक पुष्कर योगी, जिल्ला सदस्य मिलन घिमिरे, मन्थली उमावि एकाइ अध्यक्ष सफल दाहाल, जनजागृति उमावि एकाइ अध्यक्ष आशीष खड्कालगायत पचासभन्दा बढी माओवादी केन्द्रका सदस्यलाई टीका लगाएर प्रवेश गराएका थिए ।
सम्मेलनमा नवनिर्वाचित सेक्रेटरी सन्तोष, तामाङ राष्ट्रिय मुक्तिमोर्चाका अध्यक्ष माणिक लामा, जिल्लाका पूर्वसेक्रेटरी इन्द्र श्रेष्ठ, तीर्थ कार्की, अखिल नेपाल जनसांस्कृतिक महासंघका केन्द्रीय सचिव अशोक सुवेदीलगायतले अबको जनक्रान्तिमा किसान, महजुर, महिला, दलित, कर्मचारी, बुद्धिजीवी सबैको साथ रहनुपर्ने धारणा व्यक्त गरेका थिए । सम्मेलनअघि माओवादी नेता, कार्यकर्ता र सहभागीको ¥यालीले मन्थली बजार परिक्रमा गरेको थियो ।
यसैबीच, नेकपा (माओवादी) का पोलिटब्युरो सदस्य भरत बमले शनिबार सिर्जनानगरमा तीन पुस्तक लोकार्पण गरेका छन् । माओवादी रामेछापको चौथो जिल्ला सम्मेलनका क्रममा उनले हितप्रसाद उपाध्याय लिखित चन्द्रवदन काव्य, लालबस्ती नियात्रासंग्रह र अशोक सुवेदीको रामप्रसादको सिसमहल कथासंग्रह लोकार्पण गरेका हुन् । पुस्तकमाथि टिप्पणी गर्दै उनले यी सिर्जनाले नेपालको प्राथमिककालीन साहित्य, कला र संस्कृतिलाई वर्तमानमा विकसित कार्यदिशा एकीकृत जनक्रान्तिलाई जोड्ने बताए । चन्द्रवदन उपाध्यायको २००२ सालमा लिखित काव्य हो भने लालबस्ती रामेछाप र चन्द्रागिरिको नियात्रासंग्रह । त्यस्तै रामप्रसादको सिसमहल सुवेदीको चौथो कथासंग्रह हो । संग्रहमाथि माओवादी रामेछापका सेक्रेटेरी सन्तोष कोइराला, तामाङ राष्ट्रिय मुक्तिमोर्चाका अध्यक्ष माणिक लामालगायतले टिप्पणी गरेका थिए

प्रतिक्रियाहरु

[anycomment]