कालीगण्डकीको जल चक्र प्रणाली प्रभावित
काठमाडाैँ, १७ माघ । कालीगण्डकी नदीमा वातावरणीय तथा मानवजन्य प्रदूषणका कारण पानीमा अक्सिजनको मात्रा कमी हुन गई जल चक्र प्रणाली प्रभावित हुनुको साथै नदीको अस्तित्वसमेत खतरामा परेको छ । तापक्रम बढेसँगै हिमालमा हिमस्खलन हुने क्रम बढ्दा हिमनदी कालीगण्डकीको वहाबमा आएको परिवर्तनले नदी क्षेत्र वरपरको जमिन कमजोर बन्दै गएको हो ।
म्याग्दीको सदरमुकाम बेनीबजारमा उद्योग तथा कलकारखानाबाट निस्कने फोहोर मैला, रसायनयुक्त पानी र अनियन्त्रित रुपमा ढल मिसाउनाले कालीगण्डकी नदीको पानी अत्यधिक प्रदूषित वन्न गई पर्यावरणीय दृष्टिकोणले पनि नदीको अस्तित्व खतरामा पर्न थालेको हो । दामोदरकुण्डदेखि मुस्ताङको जोमसोम, म्याग्दीको बेनी, बागलुङ, पर्वतको कुश्मा र गुल्मीको रिडी बजारसम्म पुग्दा कालीगण्डकी नदीमा प्रशस्तै जैविक र औद्योगिक फोहोर थुप्रिन थालेको छ । हिन्दू धर्मावलम्वीका लागि पूजापाठ गर्ने थलो तथा धार्मिक आस्था र विश्वास बोकेको नदीका साथै शालीग्राम पाइने विश्वकै एकमात्र नदीका रुपमा कालीगण्डकी नदीलाई लिने गरिन्छ ।
धार्मिक, सामाजिक र सांस्कृतिक दृष्टिकोणले महत्वपूर्ण एवं वातावरणीय हिसावले संवेदनशील नदी हेर्दाहर्दै कुरुप र प्रदूषित हुनेमा सरोकारवालाहरु चिन्तित देखिन थालेका छन् ।