प्रहरी महानिरीक्षकका लागि दौडधुप सुरु

२०७३ माघ १८ गते, मंगलवार

काठमाडौं, १८ माघ । नेपाल प्रहरीका महानिरीक्षक उपेन्द्रकान्त अर्यालसहित ११ जना एआईजीले फागुन १ गते ३० वर्षे सेवा अवधि पूरा गरेर अनिवार्य अवकाश पाउने भएपछि प्रहरीमा नयाँ नेतृत्वको खोजी भएको हो । नेपाल प्रहरीमा आईजीपीसँगै एआईजीहरुले पनि एकसाथ अवकाश पाउने भएपछि अब एकैचोटी प्रहरी नायव महानिरीक्षक अर्थात् डिआइजी मध्येबाट एकजना प्रहरी महानिरीक्षकमा बन्ने छन् । यसरी डीआईजीबाटै आईजीपी हुने दौडमा छन्, २०४४ सालमा प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका डिआइजी नवराज सिलवाल, प्रकाश अर्याल, जयबहादुर चन्द र बमबहादुर भण्डारी छन् । तर आईजीपीको पद एउटा मात्र भएकाले संगठनको उपल्लो तह हत्याउने दाउमा चारै जना जुटेका छन् ।
महानिरीक्षक हुन् संगठनमा प्रवेश गर्दादेखि बढुवा हुँदाको ज्येष्ठता र कार्यदक्षता यस्ता पदमा उक्लन स्वाभाविक योग्यता हुन् । तर नेपाल प्रहरीमा आईजीपी हुन यी योग्यता मात्र नभई राजनीति पनि दाहिना हुनुपर्ने थुप्रै परिघटनाहरुले देखाएका छन् । त्यसैले अहिले महानिरीक्षक हुन् चाहनेहरु नेताको घर, कार्यालय र चोटा–कोठा पुग्ने गरेका छन् । सार्वजनिक कार्यक्रम हुँदा सांगठनिक पोशाकमै देखिनु र अरु समयमा निजी पोशाकमा झुल्किनु उनीहरुको बाध्यता नै जस्तो हुन्छ ।
अहिलेका प्रतिष्पर्धी मध्ये डीआईजी नवराज सिलवाल केन्द्रीय अनुसन्धान ब्यूरो, डीआईजी प्रकाश अर्याल महानगरीय ट्राफिक प्रहरी महाशाखा, जयबहादुर चन्द लागु औषध नियन्त्रण ब्यूरो र बमबहादुर भण्डारी प्रहरीको आतंकवाद हेर्ने विशेष ब्युरो सम्हालिरहेका छन् । प्रहरी ऐनले एआईजी नभएका बेलामा डीआईजी मध्येबाट जेष्ठता, कार्यकुशलता, कार्यक्षमता, उत्तरदायित्व वहन गर्न सक्ने क्षमता, नेतृत्व प्रदान गर्न सक्ने कुशलता तथा आफूभन्दा मुनिको प्रहरीलाई प्रोत्साहन र परिचालन गर्न सक्ने सामथ्र्यका आधारमा सरकारले उपयुक्त उम्मेद्वारलाई प्रहरी महानिरीक्षक पदमा बढुवा गर्न सक्ने बाटो खोलेको छ । त्यसैले यिनै चार मध्येबाट योग्यतम व्यक्तिलाई सरकारले महानिरीक्षकमा नियुक्ति गर्ने हो । त्यसैले त चारै जना प्रतिष्पर्धी राजनीतिक लबिङदेखि समाचार माध्यम र सामाजिक सञ्जालमा सक्रिय देखिएका छन् ।
यसैगरी सशस्त्र प्रहरीमा पनि हालका महानिरीक्षक दुर्जकुमार राईले अनिवार्य अवकाश पाउने भएपछि त्यहाँ पनि नेतृत्वको आकांक्षीहरु सलबलाएका छन् ।

प्रतिक्रियाहरु

[anycomment]