आज श्रीपञ्चमी
काठमाडौँ, १९ माघ। आज श्रीपञ्चमी पर्व । माघ शुक्ल पञ्चमीका दिन मनाइने यस पर्व विद्याकी अधिष्ठात्री देवी सरस्वतीको निष्ठापूर्वक पूजा-आराधना गरी मनाइँदैछ । आज बालबालिकालाई शिक्षारम्भ गराउने, नाक कान छेडाउने तथा सङ्गीत कला जस्ता विधा सिक्न शुभ दिन मानिन्छ ।
यस दिन विवाह, व्रतबन्ध लगायतका धार्मिक कार्य गर्दा गराउँदा साइत पर्खन नपर्ने प्रचलन पनि छ । देवी भागवत र भविष्य पुराणको उत्तर पर्वमा सरस्वतीको पूजा विधान लेखिएको छ ।
ज्योतिष डा. सुनिल सिटौलाका अनुसार ज्योतिष शास्त्रमा फागुन र माघ महिनालाई शिशिर ऋतु मानिएकाले यो ऋतुमा पर्ने श्रीपञ्चमीलाई वसन्त पञ्चमी पनि भनिन्छ ।
बुधबार बिहान ११ः३५ बजेको साइतमा राष्ट्रप्रमुखबाट हनुमानढोका दरबारस्थित नासलचोकमा परम्परा अनुसार वसन्त श्रवण हुँदैछ । दरबारका कर्मचारी मिठाराम पुडासैनीका अनुसार वरिष्ठ शास्त्रीय सङ्गीतज्ञ सरिता मिश्रको एक टोलीले यहाँ वसन्त राग प्रस्तुत गर्ने कार्यक्रम तय भएको छ ।
विशालनगरको नील सरस्वती, पशुपति आर्यघाटको सरस्वती, पाटन लेलेको सरस्वती कुण्ड, मैतीदेवीको सरस्वती मन्दिर लगायत मुलुकका विभिन्न स्थानमा रहेका सरस्वती मन्दिरमा यस दिन मेला लाग्छ । शैक्षिक संस्था, तालिम केन्द्र, गुरुकुल लगायतमा यो दिन सरस्वतीको आराधना गर्ने गराउने प्रचलन छ ।