सिके राउतलाई १० दिन हिरासतमा राख्न आदेश
काठमाडौं, २१ माघ । जिल्ला अदालत सिरहाले सिके राउतलाई दश दिन थुनामा राखेर अनुसन्धान गर्न म्याद दिएको छ । मुलुक टुक्र्याउने अभियान चलाउँदै आएका राउतलाई लागेको अभियोगको थुनामै राखेर अनुसन्धान गर्नु र प्रमाण जुटाउनुपर्ने भन्दै इलाका प्रहरी कार्यालय लहानले राउतलाई अदालतमा पेश गरेको थियो ।
राउतविरुद्ध ‘राज्यविरुद्धको संगठित अपराध’ को अभियोग दर्ता गरिएको छ । राउतविरुद्ध संगठन र मोर्चा बनाएर कानून विपरित राज्य विप्लव गरेको अभियोग लागेको इलाका प्रहरी कार्यालय लहानका प्रमुख डिएसपी राजकुमार केसीले जानकारी दिए । राउतलाई प्रहरीले बिहीबार जनकपुरको पुरानो बसपार्कस्थित कोठाबाट पक्रेर सिरहाको लहान लगेको थियो । लामो समयदेखि भूमिगत रहेका राउतलाई लाहान लगिएपछि त्यहाँ सुरक्षा सतर्कता समेत बढाइएको छ ।