प्रिपेड मोबाइलमा पनि फोरजी

२०७३ माघ २२ गते, शनिबार

काठमाडौं, २२ माघ । नेपाल टेलिकमले प्रिपेड मोबाइलमा पनि फोरजी र कल रिङ ब्याक टोन सेवा पुनः सुरु गरेको छ । यसअघि, पोस्टपेड मोबाइलमामात्रै सेवा दिँदै आएको टेलिकमले आफ्नो १३औं वार्षिकोत्सवका अवसरमा आजदेखि प्रिपेडमा पनि फोरजी सेवा विस्तार गरेको हो । यो सेवा हालका लागि काठमाडौं उपत्यका र पोखरामामात्रै उपलब्ध हुनेछ । छिट्टै मुलुकभर यो सेवा विस्तार गर्ने शनिबार राजधानीमा आयोजित वार्षिकोत्सव कार्यक्रममा टेलिकमकी प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले बताइन् । टेलिकमले कुनै समयमा निकै चर्चित रहेको कल रिङ ब्याक टोन (सीआरबीटी) सेवा पुनः सुरु गरेको छ । टेलिकमको सेवालाई थप प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धता प्रबन्ध निर्देशक राजभण्डारीले व्यक्त गरिन् । वार्षिकोत्सवको अवसरमा टेलिकमले विभिन्न छुट योजना पनि सार्वजनिक गरेको छ ।
कार्यक्रममा सूचना तथा सन्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले टेलिकमको सेवालाई प्रभावकारी बनाउन निर्देशन दिए । उनले कर्णाली क्षेत्रका सरकारी विद्यालयका विद्यार्थीलाई कम्प्युटर, इन्टरनेटसम्बन्धी जानकारी दिने कार्यक्रम सन्चालन गर्न पनि निर्देशन दिए ।
दूरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झाले नयाँ प्रविधिको प्रयोगमा लाग्न टेलिकमलाई आग्रह गरे । उनले सस्तो शूल्कमा विदेश फोन गर्नसक्ने व्यवस्था बनाउन पनि टेलिकमलाई निर्देशन दिए । हालसम्म आफ्ना ग्राहक १ करोड ६२ लाख पुगेको टेलिकमले जनाएको छ ।

प्रतिक्रियाहरु

[anycomment]