एसएसपी खत्रीलाई हिरासतमै राखेर अनुसन्धान गर्न आदेश
काठमाडौं, २४ माघ। काठमाडौं जिल्ला अदालतले प्रहरी वरिष्ठ उपरीक्षक श्यामबहादुर खत्रीलाई चार दिनसम्म हिरासतमै राखेर अनुसन्धान गर्न अदालतले म्याद दिएको छ । सुनकान्डमा पक्राउ परेका एसएसपी खत्रीलाई अनुसन्धानका लागि प्रहरीलाई सो समय दिईएको हो । नेपाल प्रहरीको केन्द्रीय जाँच ब्यूरो (सीआइबी)को नियन्त्रणमा रहेका खत्रीलाई म्याद थपका लागि सोमबार काठमाडौं जिल्ला अदालत लगिएको हो । सुन तस्करहरुलाई ३३ किलो सुन भित्र्याउन सघाएको आरोपमा एसएसपी खत्रीलाई सीआइबीले पक्रेर हिरासतमा राखिरहेको छ ।
गत महिना त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३३ किलो सुन भित्र्याउन सहयोग गरेको आरोपमा एसएसपी खत्री पक्राउ परेका हुन् । सीआइबीले खत्रीलाई आइतबार दिउँसो प्रहरी मुख्यालय नक्सालबाटै पक्रेको थियो । खत्री सुन तस्करीको समयमा विमानस्थलमा कार्यरत् थिए । सो घटनालगत्तै खत्रीलाई हेडक्वार्टर तानिएको थियो । प्रहरीले यसअघि विमानस्थल भन्सारमा कार्यरत तीनजना कर्मचारीलाई पनि पक्रिसकेको छ । उनीहरुको बयानसमेतका आधारमा खत्रीलाई पक्राउ गरिएको बताइएको छ ।