दलित मन्दिर प्रवेश गरेको भन्दै पुजारीले तिराए पाँच हजार ‘जरिवाना’
काठमाडौं, २४ माघ । रामेछाप जिल्लाको बेताली गाविसमा दलितले मन्दिर प्रवेश गरेको भन्दै स्थानीय एक दलितलाई मन्दिरका पुजारीले रु पाँच हजार जरिवाना गराइ तत्काल रुद्री लगाएर मन्दिर चोख्याएका छन् । बेताली–३ मा रहेकोे शेराकाली, महांकालथान मन्दिरमा शनिबार सोही वडाका कृष्णकुमार विकले पूजा गरेको भन्दै मन्दिरका पुजारीद्वय वेताली–३ का छत्रबहादुर बुढाथोकी र भीमबहादुर बुढाथोकीले ज्यानै मार्नेसम्मको धम्की दिइ उक्त रकम असुलेका हुन् । स्थानीयवासीले मन्दिरमा प्रत्येक शनिबार र मंगलबार निःसन्तान मानिस सन्तान प्राप्तिका लागि, युवा विदैशिक रोजगार फलदायी बनाउन र बोली नआएका बालबच्चाको बोली फुराउन उक्त मन्दिरमा गएर भाकल गर्ने गर्दछन् । भाकलअनुसारको बलि चढाइ पूजाआजा गरेपछि समस्या समाधान हुने जनविश्वास रहेको छ ।
सोही जनविश्वासअनुसार विकले पनि आफ्नो छोरी दुई वर्षको हुँदा पनि बोली नआएकाले उनकी श्रीमतीले उक्त मन्दिरमा गइ पाठी पूजा गर्ने भाकल गरेकी थिइन् । भाकल गरेअनुसार कृष्णकुमार पाठीपूजा गर्न शनिबार मन्दिर पुगेका थिए । विक मन्दिरभित्र प्रवेश गर्नासाथ ‘दलित किन मन्दिरभित्र पसेको ?’ भन्दै पुजारीले बाहिर निकाली गालीगलौज गर्न थाले ।
पीडित कृष्णकुमारले ‘हामीचाहिँ पस्नै नमिल्ने भनेर आफ्ना कुरा राख्दै गर्दा खुरुक्क पाँच हजार जरिवाना तिर नभए तेरो ज्यान लिन्छौं’ भन्दै पुजारीले नै दुर्व्यवहार गरेका थिए । त्यतिबेलासम्म विकले पैसा तिर्न मानिरहेका थिएनन् । पुजारी छत्रबहादुरले मन्दिर व्यवस्थापन समितिका अध्यक्ष जगतबहादुर कार्की र स्थानीय सामाजसेवी गुञ्जबहादुर कार्कीलाई फोन गरेर सोधे ।
गुञ्जबहादुरले फोनमार्फत् नै ‘कामीहरुलाई कुनै हालतमा पनि त्यतिकै नछाड्नू पाँच हजार जरिवाना तिराएर मात्र छोड्नू र सो रकमले मन्दिरमा रुद्री लगाएरमात्र अरू पूजा गर्नू’ भनेर आदेश दिएपछि सोहीबमोजिम पुजारीले जरिवाना गरे । – रासस