माओवादीको आठौँ महाधिवेशन र जनताका अपेक्षाहरू – प्रज्वल श्रेष्ठ

२०७३ माघ २९ गते, शनिबार

जब कुनै इतिहासको रूपरेखा परिवर्तन गर्ने नीति र योजना बनाउन कुनै बैठक भेला, सम्मेलन वा महाधिवेशन गरिन्छ भने त्यो क्षण आफैँमा युगान्तकारी हुन्छ । कम्युनिष्ट पार्टी स्थापनाको प्रक्रिया नेपालमा आफैँमा युगान्तकारी महत्वको छ । यस सन्दर्भमा नेपालमा १० वर्ष लामो ऐतिहासिक जनयुद्ध गरेर आएको माओवादी आफ्नै प्रतिवद्धताअनुसार जनतामाझ प्रस्तुत हुन नसक्दा, रूपान्तरण हुनुको साटो पुरानो व्यवस्थामा रमाउन थाल्दा अहिले ठूलो निराशा छ । यस्तो समयमा प्रचण्ड हुँदै मोहन वैद्यसँग समेत सम्बन्ध बिच्छेद गरेर गठन भएको कमरेड विप्लवको अगुवाईमा रहेको नेकपा माओवादी एक मात्र क्रान्तिकारी धारको रूपमा अगाडि आएको छ ।
यस अर्थमा क्रान्तिको रक्षा र विकासको निम्ति यस पार्टीको आठौं महाधिवेशन पनि निकै युगान्तकारी र गौरवशाली हुने कुरामा दुई मत छैन । यसको तयारी व्यवस्थापन पनि निकै रचनात्मक छ । थवाङमा जनश्रमदान, कार्यकर्ता परिचालन एवं केही आर्थिक परिचालन गरेर एक हजार जना अट्न सक्ने सभा हलको निर्माण, खानेपानी योजना पु¥याउन भएको पहल, एवं शहीद पार्क निर्माण जस्ता कुराले व्यवस्थापकीय पक्ष पनि सुन्दर ढंगले अघि बढिरहेको छ । सत्ताको केन्द्र विन्दु काठमाडौँमा संकेत दिएर महाविधेशनका प्रतिनिधि पर्यवेक्षकहरू क्रान्तिकारी किल्ला रोल्पाको थवाङमा भेला हुने छन् । जसले यो देशमा माओवादी आन्दोलनको भविष्य र सम्भावना चुनौती र समस्याहरूको बारेमा महासचिव कमरेड विप्लवले तयार पारेको महत्वपूर्ण दस्तावेजको सन्दर्भमा गम्भीर छलफल गर्ने छ ।
हामी के गर्छौं ?
अहिले जनतामा प्रश्न विप्लव माओवादीले के गर्न खोजिरहेको छ ? के फेरि युद्ध हुन्छ ? के फेरि हिंसा हुन्छ ? के फेरि पहिलाको जस्तै हुन्छ ? आदि आदि । तर, हामी जनतालाई बुझाउने प्रयास गरिरहेका छौँ कि हामीले हिजो जे–जे कुराहरू देश र जनताको पक्षमा उठाएका थियौँ । त्यो पूरा भएको छैन । तत्कालीन मूल नेतृत्वले जनतालाई धोका दिए पछि अहिले हामीले जनता समक्ष गरिएका ती बाचाहरूलाई पूरा गर्नु छ । अर्थात् समग्रमा भन्दा क्रान्तिका बाँकी कार्यभारहरू हामीले अगाडि लैजानु छ । यसको निम्ति युद्ध विद्रोह जे आवश्यक पर्छ, त्यो हामी गर्छौं तर पुरानो तरिकाबाट होइन, बद्लिएको नयाँ परिस्थितिमा नयाँ तरिकाबाट । र, हामी आमजनतालाई अनुरोध गर्न चाहन्छौँ देशलाई दलालीकरण गर्ने, विस्तारवादी हस्तक्षेप बढाउने र परम्परागत व्यवस्था लादेर जनतामाथि शासन गर्न चाहने तत्वहरूको विरुद्ध सबै एक जुट होऔँ । हामी देश र जनताको मुक्तिका लागि त्याग र सघर्ष गर्न चाहन्छौँ हामीले चाहने कुरा यिनै हुन् ।
नया“ बैचारिक अवधारणाबारे
सोभियत समाजवाद स्थापना भएको एक सय वर्ष नाघेको छ । हामीले माक्र्स, ऐंगेल्सले अघि सारेको सन् १८४८ को घोषणापत्र र व्याख्याहरूका आधारमा लेनिनले रुसमा गरेको बिद्रोह र स्थापना गरेको समाजवादको अध्ययन ग¥यौँ र त्यसको शिक्षासहित चीनमा माओत्सेतुङले गरेको जनयुद्धबाट सिक्यौँ र हाम्रो मौलिक बिशेषतामा लागू गर्ने प्रयास ग¥यौँ । तर, फलतः मूल नेतृत्वमा विचलन आएपछि अहिले कमरेड बिप्लवको नेतृत्वमा हामीले नयाँ शिराबाट यसलाई अघि बढाउने प्रयास गरिरहेका छौँ ।
विचार सही वा गलत हुनुले सबै कुराको छिनोफानो गर्दछ भन्ने माओको भनाई छ । सही विचार र कार्यदिशा भए हामीले नभएको हतियार पनि पाउँछौँ तर गलत कार्यदिशा भयो भने हामीले भएको हतियार पनि गुमाउँछौँ कमरेड माओको निष्कर्ष थियो । अहिले हामी तत्कालीन विश्व परिवेश र स्थितिमा आएको परिवर्तित पक्षहरूको अध्ययन गर्दैछौँ । करीब ढेड सय वर्षको कम्युनिष्ट घोषणापत्र, सय बर्ष बढीको रसियन समाजवादी क्रान्ति र ६८ वर्ष पुरानो चिनियाँ जनयुद्धको समय , विश्व परिवेश र आज के–के कुराहरू भिन्न भएका छन् । विश्व शक्तिकेन्द्रहरूको ध्रुवीकरण, विज्ञान र प्रविधिमा अएको परिवर्तनले सामाजिक क्षेत्रमा पारेका प्रभाव र प्रवृत्तिको राम्रोसँग अध्यन गरेर हामी अघि बढ्न खोजीरहेका छौँ ।
यसैको प्रस्थानविन्दुको रूपमा दाङमा २०७१ साल मंसीरमा भएको सम्मेलनमा एकीकृत जनक्रान्तिको कार्यदिशा मूलभूत रूपमा कमरेड महासचिवले प्रस्तुत गर्नु भएको थियो र त्यसैलाई थप व्याख्या र विश्लेषण गर्दै अझ राम्रो निष्कर्ष निकाल्ने दिशामा पार्टी लागिरहेको छ । हामीले यसमा नयाँ कुराहरू के छन् त भनेर अध्ययन गर्नु पर्ने हुन्छ । यसमा मुख्यतया बद्लिएको सामाजिक परिवेशमा उत्पादक शक्ति र सम्बन्धको स्वरूपमा केही परिवर्तन आएको छ । जस्तो कि मध्ययम हाम्रो दस्तावेजले श्रमिक बर्ग भन्नाले उद्योगका मजदूर मात्र नभएर डाक्टर, इन्जिनियर जस्ता पेशामा लागेका पनि एक किसिमका मजदूर हुन भन्ने व्यक्त गर्न खोजेको छ । पुँजीवादको मरणासन्न रूप भनिएको साम्राज्यवाद उत्तर साम्राज्यवाद भएको निष्कर्ष निकालिएको पनि छ । अतः यो एउटा अध्ययन र गहन छलफल गर्नुपर्ने अवधारणाहरू हुन् । मुख्यतया एकीकृत जनक्रान्तिको अहिलेको मर्म भनेको माओ वा लेनिनकालीन दीर्घकालीन जनयुद्ध र अल्पकालीन सशस्त्र विद्रोहको अनुकरणभन्दा पनि पृथक किसिमले, मौलिक तरिकाले क्रान्ति गर्ने अर्थमा बुझ्नु आवश्यक छ ।
विगतको आन्दोलन र जनताको बुझाई
विगतमा जनताको घरमा बुवाआमा नमस्कार भन्दै बास बस्ने, श्रम गर्ने ती मान्छेहरू अहिले कता छन् थाहा छैन, अहिले त माओवादीका मान्छेहरू चोकमा केरमबोर्ड खेल्ने, तास खेल्ने र भट्टीमा रक्सी खाएर बसिरहेको भेटिन्छ । अनि ठेक्कापट्टा मिलाएर खान्छन् भन्ने सुन्छौँ । यो देशभरका ग्रामीण क्षेत्रहरूमा जनताको अभिव्यक्ति अहिले जतासुकै सुनिँदै आएको छ । यसको मुख्य कारण प्रचण्ड नेतृत्वको माओवादी केन्द्र हो । जसले सत्ताको निम्ति जेसुकै गर्ने चरित्र बनाएको छ । कहिले राष्ट्रवादको चर्को कुरा गर्ने कहिले भारतको दलाली गर्ने प्रवृत्तिका कारण जनतामा अहिले माओवादीप्रति वितृष्णा बढेको देखिन्छ ।
यो वितृष्णा र आक्रोश किन हो त ? जनताले युद्धमा त्यत्रो ठूलो बलिदान गरेका थिए । हजारौँ घाइते अपाङ्ग र बेपत्ताका आफन्तहरूले आज त्यही पीडा व्यक्त गरिरहेका छन् । यसले सच्चा माओवादी, सच्चा क्रान्तिकारीको अभाव जनताले महसुस गरेका छन् । यो आक्रोश स्वभाविक छ । त्यसैले जनताको त्यो त्याग तपस्या र बलिदानको सम्मानका लागि पार्टीले क्रान्ति जारी राख्ने निर्णय गरेको छ । त्यसैले जनतालाई धोका दिएर सत्ता लिप्सामा लाग्ने होइन देश र जनताको मुक्तिका लागि डटेर फेरि लड्ने दृढताका साथ कमरेड विप्लवको नेतृत्वमा पार्टी संगठित भएको छ ।
पार्टीको नाम परिवर्तन र भ्रमहरूबारे
महासचिव विप्लवले महाधिवेशनका लागि तयार गरी कार्यकर्ताहरूमाझ सुझाव र अध्ययनका लागि वितरण गरिएको दस्तावेजमा पार्टीको नाम परिवर्तनको प्रस्ताव गरिएको छ । अर्थात् अहिलेको नेकपा माओवादीको नाम परिवर्तन भएर अब थवाङको ऐतिहासिक बन्द सत्रले शायद पार्टीको नाम अब नेपाल कम्युनिष्ट पार्टी राख्न सक्छ । यसबारे पनि केही भ्रमहरू पैदा हुन खोजेको वा गर्न खोजिएको छ । हामीले पार्टीको नाम परिवर्तनको अर्थ मालेमावाद छाडेको भनेर बुझ्नु गलत हुन्छ । माओवादीका नाममा बढेका विकृति विसंगतिले जुन गलत सन्देश दिइरहेको छ हामीले त्यसलाई करेक्सन गर्न खोजेको भनेर बुझ्नु उपयुक्त हुन्छ । माओवादी, माक्र्सवादी, लेनिनवादी वा जे भने पनि मुख्य प्रवृत्ति हामीले के उद्देश्य राखेका छौँ र के गर्न चाहन्छौँ ? त्यो मुख्य कुरा हो नाम होइन ।
नाम त एमालेले पनि माक्र्सवादी, लेनिनवादी त हो तर उसको व्यवहारले उ माक्र्सवादी, लेनिनवादी ब्यबहारमा छ त ? त्यसैले कम्युनिष्ट पार्टी मात्र राखिनाले हामीले मालेमावाद छाडेको भन्ने अर्थ होइन, अझ समृद्ध क्रान्तिको कार्यभार पूरा गर्ने तयारी र क्रान्तिलाई विश्वव्यापीकरण गर्ने उपाय हो । यसबाट कोही पनि भ्रमित हुनु वा विचलित हुनुहुँदैन ।

प्रतिक्रियाहरु

[anycomment]